सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरुको प्रदर्शनी गरिएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो ।
यस्ता नृत्यहरु बज्राचार्यहरुले गुप्त रुपमा गर्ने गरेका छन् । महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो ।
देवीदेवताको भावमा देव कलाकारहरुले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए ।
उनीहरुको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो ।
षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरुको भाव नृत्यको हो । देवीहरु मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो ।
नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौँको असनमा छ । आठ वटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रुपमा प्रख्यात छ ।
उनले आफूसँग भएको शक्तिलाई प्राणीहरुको अहित गर्नेहरुको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वाश गरिन्छ । अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो ।
उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रुपमा हेर्ने गरिन्छ ।
आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरुलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रुपमा पूजा गरिन्छ । हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन् । देवीले श्रद्धालुहरुलाई बुद्ध ज्ञानबाट पारङ्गत गराउँछिन भन्ने विश्वास पाइन्छ ।
दुःख पाएकाहरुलाई करुणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो । प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वाश गरिन्छ ।
रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका रुपमा अर्चना गरिन्छ । दशवटा पाखुरामा उहाँको शक्ति हुन्छ । रक्त गणेशलाई सुखदाताका रुपमा पनि पूजा गरिन्छ ।
अबलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो । दायाँ हातमा अभय वरदान, वायाँ हातमा निर्मल, निलो रङ्गको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वाश गरिन्छ ।
बुद्ध शासनको रक्षाका लागि प्रकट हुनुभएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकाबासीको धार्मिक आस्थालाई विम्बका रुपमा प्रकट गरेको थियो । दायाँ हातमा बज्र र वायाँ हातमा घण्ट लिएका बोधिसत्वको रङ्ग निलो हो ।
वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन् । प्रत्येक वुद्धका अन्तरनिहित विशेषता छन् । हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन् । बौद्ध धर्माबलम्बीहरुका लागि पञ्चवुद्धको स्थान उच्च छ । बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा