सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १ बैशाख । वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी जेलमुक्त भएका छन्। सोमबार बिहान १० बजेतिर उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
उच्च अदालत पाटनको आइतबारको फैसलाले गिरीलाई सफाइ दिएपछि उनलाई रिहा गरिएको हो। उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दामा प्रस्तुत प्रमाणहरू अपर्याप्त ठहर गर्दै गिरीलाई दोषमुक्त गरेको हो।
न्यायाधीश गिरीमाथि उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन्। उजुरीअनुसार, वैवाहिक सम्बन्धकै नाममा जबर्जस्ती यौन सम्पर्क राखिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी थिइन्।
गत वर्ष जेठमा, काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गर्दै कारावास सजायको फैसला सुनाएको थियो। त्यसपछि न्याय परिषद्ले उनलाई न्यायिक जिम्मेवारीबाट निलम्बन गरेको थियो।
उच्च अदालत पाटनको फैसलामा गंभीर प्रकृतिका यस्ता मुद्दामा आवश्यक प्रमाणको अभाव देखिएको उल्लेख गरिएको छ। अदालतले उजुरीकर्ताबाट प्रस्तुत प्रमाणहरू गिरीलाई दोषी सावित गर्न पर्याप्त नभएको निष्कर्षमा पुग्दै सफाइ दिएको हो।
कानून व्यवसायीहरूले अदालतको निर्णयप्रति विभिन्न प्रतिक्रिया दिएका छन्। कतिपयले अदालतले प्रमाणको अभावमा गरेको निर्णयलाई कानुनी प्रक्रिया अनुसार ठिक भनेका छन् भने अन्यले पीडितको पक्षमा न्याय नपुगेको भन्दै आलोचना गरेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा