सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद दीपकबहादुर सिंहले देशको वर्तमान संकटको समाधानका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्। मंगलबार राजधानीको बल्खुमा आयोजित राप्रपाको बृहत जनसभामा बोल्दै उनले राजसंस्थाबिना देश, धर्म र संस्कृति जोगिन नसक्ने तर्क प्रस्तुत गरे।
नेता सिंहले राजाले मात्र नेपाली समाजलाई एकजुट गर्नसक्ने शक्ति भएको दाबी गरे। “धर्म, संस्कृति र संस्कार जोगाउनका लागि राजसंस्था अपरिहार्य छ,” उनले भने, “देश बचाउनका लागि राजाबाहेक अरु विकल्प छैन।” उनले राप्रपाले निरन्तर रूपमा राजसंस्थाको पक्षमा आवाज उठाउँदै आएको पनि स्मरण गराए।
उनले मुलुक गम्भीर संकटमा रहेको उल्लेख गर्दै व्यापक रूपमा फैलिएको भ्रष्टाचारप्रति कडा आलोचना गरे। सिंहका अनुसार मुलुक भ्रष्टाचारमा डुबेको छ र यस्ता परिस्थितिमा सबै राजनीतिक दलहरूले मिलेर राष्ट्रलाई जोगाउनुपर्ने समय आएको छ। “देश समाप्त हुने अवस्थामा पुगिसकेको छ,” उनले भने, “देश भ्रष्टाचारमा डुबिसकेको छ, त्यसैले सबै राजनीतिक शक्ति राष्ट्रको रक्षाका लागि एकजुट हुनुपर्छ।”
सिंहले राजनीतिक खिचातानीका कारण मुलुकका संवैधानिक निकायहरूसमेत प्रभावित भएको टिप्पणी गरे। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेकोप्रति उनले असन्तुष्टि जनाए। यो घटनाले सरकारको असक्षमतालाई उजागर गरेको उनको भनाइ छ।
वर्तमान सरकार सुधार गर्न असफल भएमा मुलुकले छिमेकी राष्ट्रहरू श्रीलंका र बंगलादेशले भोग्नुपरेको जस्तै आर्थिक र राजनीतिक संकटको सामना गर्नुपर्ने चेतावनी पनि सिंहले दिए। उनले समयमै सुधार नगरे देश गम्भीर दुर्घटनातर्फ जान सक्ने खतरा औंल्याए।
तीनकुने घटनाको सन्दर्भमा उनले सो घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निशर्त रिहा गर्नुपर्ने माग गरे। साथै, घटनाको यथार्थ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा