सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । चर्चित हास्य कलाकार तथा निर्माता दीपकराज गिरीमाथि राजतन्त्रको समर्थक भएको आरोप लागेपछि उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। केही दिनअघि गिरीले ३२ जनासँगै राजावादीहरूले गर्ने भनिएको आन्दोलनको समर्थनमा अपिल निकालेको चर्चा चलेको थियो। शुक्रबारको प्रदर्शन हिंसात्मक बनेपछि उनी विवादमा तानिएका थिए।
दीपकराज गिरीले आफ्नो पोस्टमा आफू कुनै पनि दल वा विचारसँग स्थायी रूपमा आबद्ध नरहेको स्पष्ट पारेका छन्। उनले विगतका राजनीतिक घटनाहरू स्मरण गर्दै आफू विभिन्न समयमा फरक नेताहरूबाट प्रभावित भएको उल्लेख गरेका छन्।
‘२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के-के उपद्रो गरियो, यहाँ उल्लेख गर्दिनँ,’ भन्दै गिरीले त्यसबेलादेखि नै राजनीति प्रति चासो राख्ने व्यक्ति भएको संकेत गरेका छन्।
उनका अनुसार प्रजातन्त्र आएपछि उनले विभिन्न दलका नेताहरूको विचार अध्ययन गरे र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पक्षमा लागे। उनले पार्टीका तर्फबाट गाउँ सचिवदेखि काठमाडौं जिल्ला समितिसम्मको जिम्मेवारी पनि सम्हालेका थिए। करिब एक दशक राजनीति गरेपछि उनले आफ्नो यात्रा कलाकारितातर्फ मोडेका थिए।
विभिन्न समयमा नेताहरूबाट प्रभावित भएको स्वीकारोक्ति
गिरीले २०६२/६३ को जनआन्दोलनताका प्रचण्डको क्रान्तिकारी विचारले आफूलाई प्रभावित पारेको खुलाएका छन्। त्यतिबेला उनले तत्कालीन राजसत्ताविरुद्ध खुलेर लेखेको, बोलेको र सडकमा उत्रिएको बताउँदै त्यो समयमा फेरि एकपटक ‘राजावादी’ भएको कटाक्ष गरेका छन्।
त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनको तार्किक शैली र राष्ट्रवादी अडानले आफूलाई प्रभावित पारेको बताउँदै चुच्चे नक्साको विषयमा ओलीको समर्थन गर्दा पनि उनलाई ‘राजावादी’ को ट्याग लगाइएको बताएका छन्।
गिरीका अनुसार पछिल्लो समय उनी कुनै पनि दलसँग निकट छैनन्, तर लोकतान्त्रिक विचारलाई भने कहिल्यै मर्न नदिएको बताएका छन्।
उनले भनेका छन्, ‘अस्तिको कुरा गरौं। आन्दोलनको एक दिनअघि एउटा कल आयो। एउटा बौद्धिक भेला हुँदैछ, जसले हालको राजनीतिक ध्रुवीकरणबारे छलफल गर्नेछ। तपाईंको विचार राख्नुहोला भनियो। त्यहाँ गएँ। आफ्नो स्वभावअनुसार स्पष्ट र सकारात्मक विचार राखें। देशमा समस्या त छ तर प्रचार गरेजस्तो बिग्रिएको पनि छैन भन्ने विचार पोखें। चिया खाएँ र फर्किएँ। भोलिपल्ट बिहान थाहा भयो, म फेरि एकपटक राजावादी भइसकेछु।’
गिरीले विगत केही वर्षयता काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको खुलेर समर्थन गरेका थिए। उनले नयाँ पुस्ताका नेताहरूको उदयलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएको र पुराना नेताहरूको असफलताकै कारण जनतामा निराशा पैदा भएको बताएका छन्।
उनले भनेका छन्, ‘यहाँ नयाँ विचार र नयाँ मान्छे आउनासाथ गणतन्त्रलाई पखाला लाग्छ, प्रजातन्त्र खतरामा पर्छ। यहाँ शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्दा त्यो मान्छे गणतन्त्रविरोधी वा राजावादी हुन्छ। तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा निराशा आएको हो। यहाँ पुराना राजाको माग बढ्नुमा तपाईंहरूकै शासन शैली जिम्मेवार छ।’
गिरीले आफ्नो पोस्टको अन्त्यमा सत्तासीन नेताहरूलाई व्यंग्यात्मक शैलीमा राम्ररी शासन गर्न सुझाव दिएका छन्। उनले नेताहरूलाई नै ‘राजा’ को संज्ञा दिँदै भनेका छन्, ‘अन्त्यमा, तपाईंहरूले नै राम्ररी राजकाज चलाउनुस्। तपाईंहरूलाई नै राजा मानेको छु र मानिरहन पाऊँ। सधैं राजावादी भइरहन पाऊँ। शुभदिन!’
उनको यो प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। कतिपयले उनको वक्तव्यलाई सही ठानेका छन् भने केहीले उनलाई दोहोरो भूमिका खेलेको आरोप लगाएका छन्।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा