सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन् ।
आज लमजुङको बेसीशहर स्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए ।
उनले भने, ‘कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो । पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ ।’
नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराएको हुनाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘देशका हिमाल, पहाड, तराइँ सहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ ।’
त्यसैगरी मन्त्री यादले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीशहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुशी समेत व्यक्त गरे ।
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउँदै उनले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताए ।
उनले भने, ‘हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिसत योगदान गर्नुपरेको भएता पनि अब सरकारले नीति परिमार्जन गर्दै निर्देशिका तयार गरि यो अनुपातलाई ८५÷१५ मा रूपान्तरण गरिसकेको तर जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन म प्रतिबद्ध छु ।’
खानेपानी क्षेत्रलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन नेपाल सरकार सहित आफ्नो प्रयास निरन्तर जारी रहेको मन्त्री यादले प्रतिबद्धता जनाएका छन् ।
भावी योजना अन्तरगत बेसीशहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्नका लागि रु १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेका तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जनाएका छन् ।
आज उद्घाटन गरिएको आजको उक्त आयोजनाले बेसीशहर नगरपालिकाको वडा नं. ६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।
गुरुत्वाकर्षण प्रवाह प्रविधिमा आधारित भएकाले बिना पम्पिङ, न्यून ऊर्जा खर्चमा पानी आपूर्ति गर्न सकिने, पम्पिङ आवश्यक नपर्ने भएकाले नियमित, भरपर्दो, र टिकाउ खानेपानी सेवा यहाँका बासिन्दाले प्राप्त गर्न सक्ने महानिर्देशक ई श्रेष्ठले बताए ।
सार्वजनिक नीजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा नेपाल सरकारको ७० प्रतिसत र उपभोक्ता समितिको ३० प्रतिसत योगदान रहेको र कुल लागत रु २८ करोड ८३ लाख रहेकोमा नेपाल सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु ८ करोड ६४ लाख लगानी रहेको जनाइएको छ ।
उक्त आयोजनाले २४ घण्टा निरन्तर गुणस्तरीय पानी उपलब्ध गराउने र जसका लागि २८ एलपिएस क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
आजको उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा