सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा । रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेको भन्दै आन्दोलित बनेका तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किएका छन् ।
श्रमिकहरूले उठाएको मुद्दामा मंगलबार सिनो हाइड्रोले सहमति जनाएसँगै उनीहरू आज बुधबारदेखि काममा फर्किएका हुन् । आयोजनास्थल बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीसहितका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि, तामाकोशी जलविद्युत् कम्पनीका प्रतिनिधिसहितको रोहवरमा सिनो हाइड्रोले श्रमिकको माग सम्बोधन गर्ने सहमति जनाएको हो ।
सहमति अनुसार सिनो हाइड्रोले त्यहाँ कार्यरत सबै नेपाली श्रमिकलाई सात दिनभित्र रोजगार सम्झौतापत्र उपलब्ध गराउनुपर्ने छ । रोजगार सम्झौतापत्रमा नेपालको श्रम कानुनले व्यवस्था गरेको सम्पूर्ण सेवा सुविधाहरू उल्लेख गर्ने सहमति भएको छ । साथै, कम्पनी र कर्मचारीबीच कुनै विवाद वा असन्तुष्टि भएमा कार्यालयमा जानकारी गराइ विवाद निरुपण गर्ने सहमति भएको श्रमिकहरूका संयोजक जीवन मगरले जानकारी दिए । उनका अनुसार मंगलबार भएको सहमति अनुसार बुधबारदेखि श्रमिकहरू नियमित काममा फर्किएका छन् ।
सहमतिपत्रमा सिनो हाइड्रो जेभीका तर्फबाट सोसल म्यानेजर झाङ योङ गोङ र प्रोजेक्ट म्यानेजर चेन झेङ्ग तथा श्रमिकहरूका प्रतिनिधिका रूपमा मदन कुमार श्रेष्ठ, जीवन मगर, दुर्गा प्रसाद आचार्य, अशोक सुवेदी, किरण ठकुरी र रञ्जित ठकुरीले हस्ताक्षर गरेका छन् । सहमतिअघि ठेकेदारको साइट मुख्य कार्यालय सुरीटारमा भएको द्विपक्षीय वार्तामा बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीका साथै हेमन्त प्रसाद भट्ट र नवीन न्यौपानेसहितको सहभागिता थियो ।
सहमतिपछि श्रमिकहरूले विज्ञप्ति जारी गरी आफूहरू बुधबार (आज)देखि काममा फर्किने उल्लेख गरेका छन् । श्रमिक आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउने बिगु र गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल र दलका नेताहरू तथा सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई उनीहरूले धन्यवाद ज्ञापन गरेका छन् ।
किन आन्दोलित थिए श्रमिकहरू ?
दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि एक सातादेखि त्यहाँ कार्यरत नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका थिए । धर्ना, र्याली र विरोधसभासहितका कार्यक्रमहरूका साथ नेपाली श्रमिकहरू आन्दोलित भएपछि निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको सो आयोजनाअन्तर्गत अडिट–१ र २ को कामकाज ठप्प भएको थियो ।
नेपाली श्रमिकहरूले ६ महिना अघिदेखि नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच गत फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि उनीहरू आन्दोलित बन्नु परेको हो ।
हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा