सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । भारत वर्षमा विकास भएको चिकित्सा पद्धति आयुर्वेदिक उपचार पद्धति प्रति मानिसहरूको ध्यान आकर्षित हुन लागेको छ ।
अन्य उपचाबाट रोग निको नभएपछि आयुर्वेदिक उपचार लिन पुग्ने बिरामीहरू अहिले रोग लाग्ने बित्तिकै तथा रोग लाग्नुभन्दा अगाडि उपचार र परामर्शको लागि आयुर्वेदिक उपचार केन्द्रमा पुग्न लागेका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पनि उपचार गराउन आउने बिरामीको आकर्षण बढ्न लागेको चिकित्सालयकी प्रमुख डाक्टर पुनम नेपाल बताउँछिन् । आयुर्वेद उपचारको बारेमा जानकारी भएका व्यक्तिहरू उपचारको लागि आउने क्रम बढेको नेपालले बताइन् ।
चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक दीपक कार्कीका अनुसार चिकित्सालयमा पुरानो रोग भएका मात्र होइन नयाँ रोग लाग्ने बित्तिकैका बिरामीहरू पनि आउने क्रम बढ्दै गएको छ । चिकित्सालयमा हाडजोर्नी, बाथ, ग्याष्टिक, रक्तचाप लगायता नसर्ने रोगका बिरामीहरू बढी आउने गरेका कार्कीले बताए । ‘विगतमा भन्दा बिरामीहरूको चाप बढेको छ’, उनले भने ।
चिकित्सालयले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत होलबडी चेकअपको सेवा समेत प्रदान गरेकोले सो सेवा लिन आउने बिरामीको सङ्ख्या निक्कै भएको उनले जानकारी दिए । सो सेवा अन्तर्गत सुगर, प्रेसर, मिर्गौला, कलेजो, दिसा, पिसाब लगायतका जाँच र उपचार निःशुल्क गरिने भएकोले जाँच र उपचारको लागि आउने बिरामीको सङ्ख्या निक्कै बढेको कार्कीले बताए । ‘वाग्मती प्रदेशका नागरिकले यो सेवा निःशुल्क पाउनु हुन्छ, वाग्मती प्रदेशको बासिन्दा भएको पुष्टि हुने नेपाली नागरिकताको प्रमाणपत्र लिएर आउनेले सो सेवा पाउनुहुन्छ, हामीले हरेक हप्ताको सोमबार सो सेवा प्रवाह गर्ने गरेका छौँ’, उनले भने ।
सो चिकित्सालयले बिरामीको ओपिडी जाँच तथा उपचार सेवा, आयुर्वेद उपचारको पञ्चकर्म र पूर्वकर्मका सेवाहरू, ल्याब, फिजियोथेराफि, अकुपञ्चर, क्षारसूत्र शल्यक्रिया, स्तनपाई आमालाई दूधवर्धक औषधी, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धन सेवा लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।
अन्यत्र उपचार गर्दा रोग निको नभएपछि सो चिकित्सालयमा सेवा लिन आउने गरेको मन्थली नगरपालिका–६ डाँडाखर्ककी ६२ वर्षीय नेप्टी बसेलले बताइन् । ‘ग्यास्ट्रिक दुःख दिएपछि काठमाडौं गएर पनि उपचार गरेँ, त्यहाँको उपचारले पनि काम गरेन, यहाँ आएर सेवा लिन लागेपछि मुख बारेर नियमित औषधी खाँदा कम भएको छ’, उनले भने ।
ठोक्किएको शरीर दुखेर बिरामी परेपछि ठाउँ ठाउँमा उपचार गर्दा पनि निको नभएपछि सो चिकित्सालयमा उपचारका लागि आउने गरेका लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिका ८५ वर्षीय अम्बरबहादुर बरुवाल पनि सो स्वास्थ्य संस्थामा आएर थेराफी सेवा लिन लागेपछि निक्कै सुधार भएको बताउँछन् । ‘यहाँ सेक्ने र मालिस गर्ने गरेपछि निक्कै सञ्चो भएको छ’, उनले भने ।
वाग्मती प्रदेश सरकारको मातहतमा रहेको सो चिकित्सालयलाई प्रदेश सरकार १६ बेडको अस्पतालको मान्यता दिएको छ । तर संरचना नहुँदा बेड राखेर अस्पतालको सेवा सुरु हुन सकेको छैन । ‘भवन अभाव हुँदा बेडबाट दिने उपचार सेवा दिन सकेका छैनौँ, बिहानदेखि साँझसम्म मात्र सेवा दिने गरेका छौँ, बेडमा नै राखेर बिरामीलाई उपचार दिन सके धेरै राम्रो सेवा दिन सकिन्छ, यसको लागि सबैको सहयोग आवश्यक छ’, कार्यालय प्रमुख नेपालले भनिन् ।
सो चिकित्सालयमा बेड सहितको अस्पताल सञ्चालनको लागि मन्थली नगरपालिकामा चिकित्सालय रहेको कारणले पनि नगरपालिकाले आवश्यक समन्वय गर्ने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । ‘जिल्लाको एक मात्र आयुर्वेदिक अस्पताल सञ्चालन हुनुपर्छ भन्ने पक्षमा हामी छौँ, मन्थली नगरपालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गर्न तयार छौँ’, श्रेष्ठले भने ।
वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ पनि सो अस्पताल सञ्चालनको लागि आवश्यक पहल गरिरहेको बताउँछन् । ‘यो अस्पताल छिटो भन्दा छिटो पूर्णरुपमा सञ्चालनमा आउनु पर्छ, त्यसको लागि हाम्रो तर्फबाट पनि पहल हुन्छ, प्रदेशका स्वास्थ्य मन्त्रीज्यूसँग पनि यस विषमा मैले कुरा गरिरहेको छु’, श्रेष्ठले भने ।
जिल्लाको एक मात्र आयुर्वेदिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ । ‘साइड इफेक्ट नगर्ने, प्राचीन र हाम्रो उपचार पद्धतिको रूपमा रहेको आयुर्वेद उपचार भित्र धेरै खालका उपचार हुन्छन्, अस्पताल पूर्णरुपमा सञ्चालन हुने हो भने नागरिकले सहज रूपमा धेरै उपचार पाउँछन्, त्यसैले अस्पताललाई छिटो भन्दा छिटो पूर्णरुपमा सञ्चालन गर्नुपर्छ’, दाहालले भने ।
आयुर्वेद विश्वकै प्राचीन चिकित्सा शास्त्र हो । यो अर्थवेदको उपवेद हो । आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्ने रोग त्रिदोषहरू (वाथ, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ । स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू योग, पञ्चकर्म, क्षारसूत्रको प्रवर्तन गर्दछ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा