सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी भेगमा फागु पूर्णिमाका अवसरमा मनाइने होली पर्वको चहलपहल सुरु भएको छ। होली मनाउनका लागि विभिन्न स्थानमा रङ, टिसर्ट, पिच्कारी लगायतका सामग्रीको व्यापारमा वृद्धि देखिएको छ। बजारमा विशेष रूपमा युवा तथा बालबालिकाको चहलपहल बढेको छ
एकआपसमा रङ दलेर, शुभकामना आदानप्रदान गर्दै खुसीयालीका साथ मनाइने यो पर्वलाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ प्रशासनले विशेष अनुरोध गरेको छ।
काठमाडौं, ललितपुर, र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरूले होली पर्वलाई मर्यादित तरिकाले मनाउन आग्रह गर्दै विभिन्न निर्देशन जारी गरेका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले होली पर्व शान्तिपूर्ण रूपमा मनाउन अपिल गर्दै उच्छृङ्खल गतिविधि नगर्न चेतावनी दिएका छन्।
प्रशासनका अनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर समाजमा अशान्ति फैलाउने कार्य निषेध गरिएको छ। साथै, कसैको इच्छाविपरीत रङ दल्ने, पानीको लोला हान्ने वा जबर्जस्ती फोहोरा हान्ने कार्य गरे कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने जनाइएको छ। शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनलाई सक्रिय बनाइने र संवेदनशील स्थानहरूमा विशेष गस्तीको व्यवस्था मिलाइने पनि प्रशासनले जनाएको छ।
बजार क्षेत्रमा होलीका सामग्रीहरू किनमेल गर्न ग्राहकहरूको भीड लागेको छ। व्यवसायीहरूका अनुसार यो वर्ष होलीका लागि रंग, पिच्कारी, गुलाल, पानीका लोला, सेतो टिसर्ट जस्ता वस्तुहरू उच्च मात्रामा बिक्री भइरहेका छन्।
विशेषगरी असन, इन्द्रचोक, न्युरोड, लगनखेल, कोटेश्वर, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा होलीका सामान किन्नेहरूको भीड देखिएको छ। व्यवसायीहरू भन्छन्, “यस वर्षको होली व्यापार गत वर्षको तुलनामा केही बढेको छ। विशेष गरी युवाहरू बीच नयाँ डिजाइनका पिच्कारी र प्राकृतिक रङहरूको माग उच्च रहेको छ।”
होली रंगहरूको पर्व भए पनि सबै समुदायका लागि सुखद अनुभव बनाउनु आवश्यक छ। प्रशासनले सामाजिक मर्यादा कायम राख्न विशेष अनुरोध गर्दै फोहोरपानी प्रयोग नगर्न, जबरजस्ती रङ दल्ने कार्य नगर्न र शिष्ट आचरण अपनाउन आग्रह गरेको छ।
यसैबीच, विभिन्न संघसंस्था तथा युवाहरूले स्वच्छ र हराभरा होली मनाउनुपर्ने सन्देश फैलाइरहेका छन्। सामाजिक अभियन्ताहरूले रासायनिक रंगको प्रयोग नगर्न, वातावरणमैत्री होली मनाउन र प्राकृतिक रङहरूको प्रयोग गर्न अपिल गरेका छन्।
होली पर्वका कारण काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको सञ्चालनमा केही प्रभाव पर्ने सम्भावना रहेको छ। सार्वजनिक यातायात व्यवसायीहरूले अपरान्हपछि सवारी साधनको संख्यामा कटौती हुन सक्ने बताएका छन्। साथै, अत्यधिक भीडभाड हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी व्यवस्थापन गरिने छ।
फागु पूर्णिमा अर्थात् होली पर्व नेपाली समाजमा आपसी मेलमिलाप, सद्भाव र हर्षोल्लासको प्रतिकका रूपमा मनाइन्छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा