सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।
सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि ओएई उपकरण महत्वपूर्ण हुने बताउनु भयो । बच्चा जन्मिएपछि श्रवण क्षमताको परीक्षण गरे जन्मजातै सुन्न नसक्ने अपाङ्गता नियन्त्रणमा टेवा पुग्ने प्रा.डा. अन्सारीले बताउनु भयो । ‘सरकारले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिङ्, निर्देशिका २०८१ स्वीकृत गरेको छ । सरकारको अभियानलाई सार्थकता प्रदान गर्न इएनटी ओपिडीमा ओएई उपकरण स्थापना गरेका हौं ।’ प्रा.डा. अन्सारीले भन्नुभयो ।
राजधानीमा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाहरुमा नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण छैन । नेपाल मेडिकल कलेजले यही समस्यालाई दृष्टिगत गरी अडियोलोजी युनिटमा ओएई उपकरण स्थापना गरेको हो । कलेजमा अन्यत्र जन्मिएका नवजात शिशुहरुको पनि ओएई उपकरणबाट श्रवण क्षमता जाँच गर्न ल्याउन सकिन्छ ।
सरकारले जारी गरेको निर्देशिका अनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ । यस व्यवस्था अनुरुप नेपाल मेडिकल कलेजमा अन्य अस्पतालहरुले श्रवण क्षमता परीक्षणका लागि प्रेषण गर्न सक्नेछन् ।
जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ । निर्देशिका अनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएई उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ ।
नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको तथ्यांक छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो र बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । ‘बच्चा जन्मिने वित्तिकै उसको श्रवण क्षमता परीक्षण गरे धेरै हदसम्म बहिरोपन रोक्न सकिन्छ । सरकारको नीति र योजना अनुसार हामीले ओएई उपकरण ल्याएका हौं । कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले भन्नुभयो ।
पछिल्लो समय कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न नविनतम प्रविधि र उपकरणहरु भित्र्याउँदै गएको कलेजले जनाएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा