सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ। ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चले उल्ट्याएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार गरेको फैसलाले कार्कीको सांसद पद सुरक्षित भएको छ। अदालतको यो निर्णयसँगै उनी निर्वाचित पदमा यथावत् रहनेछिन्।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको क्रममा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। आयोगको दाबी थियो कि डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भएकाले उनी लाभको पदमा रहेको निष्कर्ष निकालिएको थियो। तर, कार्कीले आफू निर्वाचित भए पनि त्यो पद लाभको पद नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
२०७९ कात्तिक १५ गते सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि कार्की निर्वाचनमा सहभागी भइ विजयीसमेत भएकी थिइन्।
करिब २ वर्ष ४ महिनापछि सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई बदर गरेको हो। सर्वोच्च अदालतको फैसलाले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण भएको पुष्टि गरेको छ।
सर्वोच्च अदालतको यो निर्णयले स्वतन्त्र उम्मेदवार तथा नयाँ राजनीतिक दलका सदस्यहरूको अधिकारलाई सुरक्षित गर्ने कानुनी दृष्टान्त कायम गरेको छ। साथै, निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाउने अवसरसमेत मिलेको छ।
डा. तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी चर्चित नेतृ हुन्। उनको उम्मेदवारी खारेज भएपछि अन्याय भएको भन्दै व्यापक रूपमा चर्चा भएको थियो। अदालतको यो निर्णयले भविष्यमा हुने निर्वाचन प्रक्रियामा उम्मेदवारको योग्यता तथा निषेधका प्रावधानबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा