सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । काठमाडौं महानगरपालिकाले चलचित्र क्षेत्र सम्बद्ध अधिकारीहरु बिच ‘चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधि’ मस्यौदामा छलफल गरेको छ । महानगरपालिकाले तर्जुमा गरेको मस्यौदामाथि चरणवद्ध रुपमा क्षेत्रगत सुझाव लिने क्रममा आज छलफल गराएको हो ।
त्यस क्रममा, रचनात्मक उद्योगको विकास, विस्तार र व्यवस्थापनका लागि चलचित्र विधाबाट काम गर्ने योजना बनाएको बताउँदै उपप्रमुख सुनिता डंगोलले, चलचित्र उद्योग बचाउन स्थानीय सरकारको तहबाट गर्न सक्ने कामसँग सम्बन्धित पृष्ठपोषण प्रदान गर्न आग्रह गरिन् ।
‘हरेक कामसँग सम्बन्धित सम्भावना जति हुन्छन्, चुनौती पनि त्यति नै हुन्छन् । ती चुनौती छिचोल्न दायित्व निर्वाह गर्नुपर्ने कार्यालयहरुका बिचमा सहकार्य गर्नुपर्छ ।’ उनले भनिन्, ‘चलचित्रमार्फत रचनात्मक उद्योगमा काम गर्न अहिलेसम्म कुनै पनि प्रकारको कानुनी व्यवस्था नभएकोले कार्यविधि तर्जुमा गरिएको हो । यसलाई सरोकारवाला, प्रयोगकर्ता तथा लाभग्राही सबैले अपनत्व बोध गर्न सक्ने बनाउन चाहेका छौँ । सम्भव भएसम्म धेरै व्यक्ति, पदाधिकारी र संघसंस्थाबाट पृष्ठपोषण लिने योजना बनाएका छौँ ।’
त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले सिर्जना बचाउन महानगरपालिकाले गरेको प्रयासमा सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा प्राप्त हुने आशा राखेको बताए । यस्तै विधायन समितिका संयोजक मचाराजा महर्जनले चलचित्र उत्पादनका हरेक चरणमा काम गर्ने सबै पक्षको कुरा सुनेर मस्यौदालाई अन्तिम प्रारुप दिइने बताए ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार, क्षेत्रगत पृष्ठपोषण लिएर कार्यविधिको मस्यौदालाई अन्तिम ढाँचा प्रदान भइरहेको छ ।
मस्यौदा समितिका संयोजक एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले मस्यौदा कार्यविधिमा प्रस्तुतिकरण गरेपछि महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, नेपाल चलचित्र बोर्ड, योजना शाखा प्रमुख गिरिश शर्मा, नेपाल पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत जयशक्ति सर्राफसहित पदाधिकारीले तहगत कानुनी व्यवस्थाको एकरुपताका विषयमा सुझाव दिए ।
यस्तै, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्र उत्पादनदेखि यसको बजारको चक्र समेटिनु पर्ने, नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र प्रवर्धनमा सहुलितय प्रदान गर्नुपर्ने सुझाव दिए । यस्तै युनेस्को काठमाडौँ कार्यालय, संस्कृति विभागका प्रमुख नभा बस्न्यात थापा, व्रिटिस काउन्सिल, कला विभागका कार्यक्रम संयोजक प्रीतिका थापाले स्थानीय र राष्ट्रिय कार्यक्रमलाई अन्तरराष्ट्रिय क्षेत्रसँगको समन्वयका विषयमा जोड दिए । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष समीर बलामीले चलचित्रको प्रवर्धनका लागि चलचित्र पत्रकारहरुको स्थानलाई समेट्न आग्रह गरे ।
छलफलमा सहरी योजना आयोगका सदस्यहरु बाबुराम भट्टराई, इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सल्लाहकार सन्तोष गिरीसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी थिए ।
चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि संस्थागत संरचना र काम कार्यविधिमा प्रस्ताव गरिएको छ ।
उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्ने, समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने कार्यविधिअन्तर्गत हुने मुख्य क्रियाकलाप रहेका छन् ।
चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई प्रवर्धन गर्ने, अभिलेख, पुस्तकालय र संग्रहालयको विकास गर्ने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई, साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रम यसमा उल्लेख छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा