सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा यतिबेला काठमाडौंमा छन् । डेनमार्कको एक विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका उनी नेपालमा विभिन्न उद्योगमा लगानी गरेका छन् । काठ उद्योग र आइडी क्षेत्रमा उनको ठूलो लगानी छ ।
ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षको भूमिकामा छन् । आफूलाई सामाजिक उद्यमी भन्न रुचाउने उनी विदेशमा भएका युवाहरुलाई ज्ञान, सीप र सोच लिएर स्वदेश फर्किन सुझाव समेत दिन्छन् । स्वदेशमै लगानी गरेर तनमन लगाएर काम गर्दा प्रतिफल निकाल्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।
यसै सिलसिलामा नेपाल न्यूज बैंकले उनको अनुभव उतारेको छ ।
जुम्लादेखि युरोपसम्म
दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना मैले देखेको थिइनँ । उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइनँ । पहिलेका धेरै समस्या र कठिनाइहरु पार गर्दै, आइपर्ने समस्याहरु समाधान गर्दै, कठोर मेहेनत र आइपर्ने चुनौतिहरुलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ । पढाइकै कुरा गर्ने हो भने कक्षा ८ सम्म जुम्लामै पढें । ९ र १० पढ्ने समयमा मुलुकमा चर्को द्वन्द्व थियो ।
जुम्लामा रहँदा पढाइमा बाधा पर्छ कि भनेर काठमाडौं आएँ ।
जुम्लाको मान्छे काठमाडौंमा स्कूल भर्ना हुँदा थुप्रै समस्याहरु आए । पछि शान्ति शिक्षा स्कुलले जुम्लाको केटो भनेर भर्ना लियो । पढाइ कमजोर थिएन । त्यसबखत हाजिरी जवाफ प्रतियोगितामा प्रथम पटक विद्यालय मेरै कारणले सहभागिता जनायो । हामीले पुरस्कार जित्यौं । समय वित्दै गयो । विद्यालय शिक्षा पार गरेर उच्च शिक्षामा सिभिल इन्जिनियरिङको कोर्ष रोजें ।
तत्कालको कोर्ष पूरा गरेर त्यसपछि म विदेश गएँ । त्यहाँको बिजनेश स्कुलमा पढ्दापढ्दै टप गरें । स्कलरसिपमा इन्टरनेशनल बिजनेश स्कुल पढ्न पाएँ । सबै विषयहरुमा उत्कृष्ट अंकहरु ल्याएकाले स्टडी कोचका रुपमा काम गर्ने अवसर मिल्यो । काम गर्दै पढ्न थालें । पढ्दापढ्दै पढाउन पनि थालें । डेनमार्कबाट स्नाकोत्तर पूरा गरेको हुँ । अहिले पनि विद्यार्थी नै छु । इटालीबाट पिएचडी गरिरहेको छु ।
डेनमार्कमा मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यसकारण उत्कृष्ट नम्बरहरु पनि आयो र आर्थिक रुपमा सर्पोट पनि भयो । र केही पैसा कलेजबाट पनि आउन थाल्यो । सबै कुरा ठिक हुँदै थियो । अलिअलि पैसा जम्मा हुन थालेकाले विस्तारै मैले पढाईसँगै बिजनेश सुरु गरें । पढाइ चल्दै नै थियो बिजनेश सुरु गरिसकेको थिएँ । सन् २००८ तिर नै साना स्तरको व्यवसाय आफ्नो नाममा दर्ता गरें । विस्तारै आइटीमा व्यवसाय तिर पनिसुरु गरें । व्यवसायसँगै कलेजमा पढाउने काम पनि गर्थें ।
र आफू पनि पढ्थे । यसरी तीन चारवटा कामहरु लगातार चलि नै रहन्थ्यो । कहिले १७–१८ घण्टासम्म खटेर काम गरिरहेको छु । निरन्तरको संघर्ष र मेहेनतले म विस्तारै यसरी आर्थिक र शैक्षिक हिसावले स्थापित हुँदै गएँ । आर्थिक र शैक्षिक रुपमा सक्षम हुँदै गएकाले जीवनमा पछिसम्म सम्झने काम गर्ने इच्छाहरु पलाउन थाले ।
स्वदेशमा लगानी, २१ सयलाई जागिर
एक बारको जीवनमा दुःख देखेर र भोगेको व्यक्ति भएकाले केही न केही गर्नुपर्छ भन्ने सोच आयो । त्यो पनि आफू जन्मेकै ठाउँमा गरौैं भन्ने लागिरहन्थ्यो । त्यही भएर विदेशमै बसेर पनि नेपालमा हामीले विभिन्न क्षेत्रमा सामूहिक लगानीमा केही काम गरेका थियौं । तर त्यो सामूहिक लगानी प्रतिफलमूखी भएन । विदेशमा बसेर नेपालमा सामुहिक लगानी गर्दा राम्रोसँग काम हुन सकेन ।
नेपालमा विग मार्ट खुल्नुअघि नै हामीले इजी मार्ट सुरु गरेका थियौं । तर धेरै समस्याहरु भोग्यौं । र सफल पनि भएनौं । विदेशमा बसेर यहाँ मोनिटरिङ हुन सकेन । त्यसपछि नेपालमै बसेर केही काम गरौं भन्ने सोच बनिरहँदा डेनमार्ककै एउटा कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ राम्रा मान्छेहरु हुनुहुन्थ्यो ।
जहाँ राम्रा राम्रा कुराहरु सिक्ने अवसर मिल्यो । मेरो आइटी व्यवसाय भएका कारणले विभिन्न आइटी व्यवसायीहरुसँग समन्वय हुन थाल्यो । धेरै ठाउँका राम्रा आइटी र फाइनान्ससँग सम्बन्धित व्यक्तिहरुसँग सहकार्य गर्न पाएँ । जसमा आइटीकै प्रयोगबाट सिर्जनात्मक कामहरु गर्ने सहयोग मिल्यो । जस कारणले गर्दा नेपालमै बिजनेश गर्ने वातावरण सिर्जना भयो ।
यतिबेला नेपालमा आफैंले स्थापना गरेका कम्पनीहरुमा लगभग २१ सय जनाले रोजगारी पाएका छन् । तर केही कम्पनी विक्री भएकाले रोजगारी गर्नेको संख्या केही कम भएको होला । गृह जिल्लालाई जोड्नका लागि लघुवित्तले ठूलो सहयोगीको भूमिका खेलेको छ । मलाई धेरैले माइक्रो फाइनान्सकै माध्यमबाट चिन्ने गरेका छन् ।
श्रमिक जोडीको आँशु
यतिबेला अन्यतिर पनि लगानी बढाएको छु । गृह जिल्लासँगको सम्बन्ध जोड्ने काम एक लघुवित्त र अर्को काठ उद्योग हो । त्यसअघि मैंले त्यहाँ बच्चा हुँदा नै युवा क्लव खडा गरेको थिएँ । त्यसले समाजसेवा गर्न अवसर सिर्जना गरायो । ६–७ कक्षा पढ्दादेखि नै खडा गरेको युवा क्लवमा अंकल साइनो लाएर बोलाउनुपर्ने व्यक्तिहरु सदस्य बस्नुभयो । धेरै उमेर ग्याप भएकाले म निर्माता र अन्य एकजनालाई अध्यक्ष राखेको थियौं । उहाँ क्षमतावान नै हुनुहुन्थ्यो । क्लब अझैपनि सञ्चालनमा छ । क्लबबाटै पुल, बाटो, मन्दिर बनाएका छौं । म १२–१३ वर्षको उमेरकै गरेको यो ऐतिहासिक थियो मेरो ।
अझै स्मरणमा छ । यो विगतको कुरा भयो ।
पछि काठको कारखाना खोलेपछि धेरैले रोजगारी पाउनुभएको छ । एक पटक कारखानामा पुग्दा एकजोडी महिला र पुरुष आएर मेरो अगाडि धेरैबेर रुनुभयो । किन रुनुभएको भन्दा काराखानामा काम गर्नुअघि गिटी कुटेर महिनाको चारदेखि आठ हजार रुपैंयाँसम्म कमाउनु हुँदोरहेछ । काठ उद्योगमा काम पाएपछि मासिक ७० हजार सम्मको आम्दानी हासिल गरेपछि खुसीले रुनुभएको रहेछ ।
यसले मलाई खुवै खुशी तुल्यायो । किन खुसी मिल्यो भने मेरो व्यवसाय मात्र भन्दा पनि कसैको जीवन नै परिवर्तन ल्याइरहेको रहेछ । त्यसैले मैंले आफूले आफैंलाई चिनाउनुपर्दा म उद्यमी भन्दापनि सामाजिक उद्यमी भन्न रुचाउँछु ।
जतिपनि मेरो व्यवसाय छ, फाइदाका लागि मात्र छैन् । सामाजिक योगदानको लागि पनि छ ।
तर जुम्लाको प्रसंगमा अरु सिर्जनात्मक कामहरु गर्न खोजिरहेको छु तर सकिरहेको छैन् । काठ उद्योग, युवा क्लव र लघुवित्तका माध्यमबाट गाउँसँग जोडिएको छु । लघुवित्तको शाखा खोलेर हजारौं गाउँलेहरुका निम्ति योगदान गरिरहेको छु । विना धितो कर्जा दिएर सेवा गरिरहेको छु । समूह बनाउने, तालीम दिने र उद्यमी बनाउने कामहरु भइरहेका छन् ।
आर्थिक पहुँचमा बृद्धि गराउने काम भइरहेको छ ।
लघुवित्तको सपना
हामीले स्थापना गरेको मातृभूमि लघुवित्त एउटा यस्तो संस्था हो जसले राष्ट्रबैंकले क्याप ल्याउनुभन्दा पहिले १५ प्रतिशतको क्याप ल्याउनुभन्दा पहिला १५ प्रतिशत भन्दा बढी चार्ज कहिल्यै गरेनौं । कुनै जमानामा हाम्रो कष्ट अफ फण्ड १६ प्रतिशत थियो । तर हामीले १५ प्रतिशतमा दिइरहेको थियौं ।
मैले डाटा लिएको त छैन तर आम रुपमा बुझ्दा लघुवित्त भनेको ग्रामीण अर्थतन्त्रको यस्तो ठूलो माध्यम हो जसले आम गाउँबासीको जीवनमा पुरै परिवर्तन ल्याइदिन्छ । कामगर्दै गयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पस्केका छौं । मेरो जीवनको मन्त्र नै इमान्दार र मेहेनत हो । म अहिले पनि १८ घण्टा, कहिले काही रातभर नसुतेर काम पनि गर्छु ।
इमान्दारिताका साथ खट्न सक्नुपर्छ । इमान्दारिता र मेहेनत जोसँग छ उसले संसार जित्न सक्छ जस्तो लाग्छ र हरेक जनताले त्यो मन्त्र अपनाउनुपर्छ । यो भयो भने राज्य, संस्था र क्षेत्र सफल बन्न धेरै समय लाग्दैन । कुनै नयाँ संस्था वा ओरालो लागेको संस्थालाई माथि उठाउन अठोट र मेहेनतका साथ काम गर्यो भने सफलता मिल्छ भन्ने उदाहरण हामीले देखाइरहेका छौं ।
यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो ।
मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो । होला, माइक्रोफाइनान्स (लघुवित्त) भित्र विकृति पनि छ । तर जसले साँचो रुपमा सामाजिक, आर्थिक विकास गर्ने उद्देश्यकासाथ संस्था खडा गरेको छ, त्यसले समाजमा साच्चिकै पारदर्शी भूमिका खेलेको छ ।
लघुवित्तले समाजमा ठूलो परिवर्तन ल्याइरहेका छन् । कुनैपनि एउटा सानो किसानले कालिमाटीबाट एकसय रुपैयाँको तरकारी ल्याएर एकसय ५० मा बागबजारमा बेच्नसक्छ भने त्यसले उसको जीवनमा परिवर्तन ल्याउँछ । मेरो उद्देश्य पनि त्यही हो, यस्तै हुनुपर्छ भन्ने हो । सामाजिक र आर्थिक परिवर्तनमा लघुवित्तको भूमिका कमजोर ठान्नु हुँदैन् ।
तर हिजोआजको ताजा अवस्था त्यस्तो छैन् । गाउँको गरिब किसानको आर्थिक पहुँच छैन् । जसका कारण ठूलो समस्या भइरहेको छ । अन्य केही उपाय छैन् तर तरकारी बिजनेस गर्छु भन्योभने एक लाख रुपैयाँ बैंकले दिन मान्दैन् । तर माइक्रोफाइनान्सले दिन्छ । इन्सुरेन्सको व्यवस्था समेत गरिदिएको छ । फाइनान्सियल टुल्सका रुपमा राष्ट्र बैंकको अवधारणामा आएको माइक्रोफाइनान्स नै हो । अहिले यसमा लगभग झण्डै दुई लाख ५० हजार सदस्य छन् । त्यो भनेको झण्डै नेपालको राष्ट्रिय पार्टी जस्तै हो । त्यसको (मातृभूमि लघुवित्त वित्तीय संस्था) को म अध्यक्ष छु । सदस्यहरुमा सामाजिक र आर्थिक वाहक बनेर शक्ति दिने काम गरिरहेका छौं । मर्दापर्दादेखि लिएर जीविकोपार्जन गर्नसम्मको लागि सहयात्रीको रुपमा काम गरेका छौं ।
असहज वित्तिय क्षेत्र, सहज सोच
हुनत संसारभरी नै माइक्रोफाइनान्स वा फाइनान्स क्षेत्र अप्ठ्यारोमा छन् । त्यसमाथि पनि नेपालको आर्थिक क्षेत्रपनि संकटमा छ । तर माइक्रोफाइनान्स भनेको बैंकिङ्ग क्षेत्रभन्दा धेरै फरक छ । आर्थिक र सामाजिक रुपमा पनि चुनौती छ ।
यदी नेपालमा लघुवित्त हुँदैनथ्यो भने वास्तवमा ग्रामीण अर्थतन्त्र आजको अवस्थामा पुग्ने थिएन् । नेपालको गरिबी निवारणमा बैंकिङ्ग पहुँचमा वा आर्थिक विकासमा माइक्रोफाइनान्सको महत्वपूर्ण भूमिका छ । यदी त्यो हुँदैनथ्यो भने आजको यो सफलता प्राप्त गर्न सकिदैन थियो । नेपालमा बचत गर्ने बानी जुन विकास भएको छ त्यो माइक्रोफाइनान्सले नै स्थापित गरेको हो । बचत गरिसकेपछि बचतलाई पनि आर्थिक उपार्जनसँग जोडेर अघि बढाउने काम माइक्रोफाइनान्सले गरेको हो । हामी लघुवित्त संचालकहरुले लोनमात्र दिइरहेका छैनौं, त्यसको उपयोगिता पनि पहिल्याउने काम गरेका छौं ।
कुनै किसानले लोन लियो र बाख्रा पालन गर्छौं भन्यो भने लोन पाएको छ । १५ प्रतिशत भन्दा बढी चार्ज लिएको छैनौं । तर निशुल्क भेटनरी डाक्टर सेवा उपलब्ध गराएका छौं । किनकी जनावरको स्वास्थ्य अवस्था के छ भनेर हेर्न डाक्टरको भूमिका महत्वपूर्ण छ । त्यतिमात्र नभएर यो हाम्रो सामाजिक दायित्व पनि हो । किनभने हामी बैंक होइनौं । लिने मात्र होइन दिनुपर्छ भन्ने भावना हामीमा छ । यतिबेला विकृतिको कुरा गर्ने हो भने पहिलो कुरा संस्था आफैं कार्यशैलीमा सुधार पनि गर्नुपर्छ भन्ने हाम्रो मानसिकता हुनुपर्छ ।
विकृतिको सुरुवात त मान्छेबाटै हुन्छ र मान्छेबाट नै सुधार गर्नुपनि पर्छ । संस्थाले गरेको छ भने संस्थाबाट नै सुरु गर्नुपर्छ । राष्ट्र बैंक र सरकारबाट गर्नैपर्ने सुधारहरु पनि धेरै छन् । र सर्वसाधारणले गर्नुपर्ने सुधारहरु पनि छन् । उहाँहरुको पनि आचरण, व्यवहार, शैली र आफ्नो आर्थिक सहयोगको बारेमा गर्नुपर्ने वास्तविक ज्ञान र सुधार गर्नपर्छ ।
अब संस्थाले के सुधार गर्न पर्यो भन्ने कुरा आउला, यसका विभिन्न क्षेत्रहरु छन् । नेपालको सम्पूर्ण बैङ्गिक क्षेत्रमा सबैभन्दा धेरै र छोटो समयमा मर्जरको बाटो रोज्ने हामी नै हौं । मेरै नेतृत्वमा भएको छ । सातवटा लघुवित्त, तीनवटा फिन्गो गरेर १० वटा संस्थाको अहिले पनि नेतृत्व गर्छु । धेरैवटा संस्था मर्ज गर्नेमा ग्लोबल आइएमई बैंक पर्छ । तर छोटो समयमा धेरैवटा गर्नेमा हामी पर्छौ । मेरो नेतृत्वमा त्यो सफल भएको छ ।
यसरी धेरैवटा संस्था मर्ज गर्दा के अनुभव भयो भन्दा संस्थाको कमजोरीहरु पत्ता लाग्यो । कर्पोरेट गभर्नेन्स९वित्तिय अनुशासन०मा हामीले सुधार गर्नुपर्नेछ । कर्पोरेट गभर्नेन्सका सवालमा हतारमा सम्झौता गरिहाल्ने परिपाटी छ । कहिलेकाही बाध्यता पनि हुनसक्छ । यस्तो भनेको फिल्ड सहायक, ब्रान्च म्यानेजर, सिइओ र बोर्डका सदस्यहरुसम्म आईपर्छ । तर माइक्रोफाइनान्समा बोर्डका मान्छेहरुको धेरै सानो मात्र भूमिका रहन्छ । लोन दिने र लिने कुरामा हाम्रो भूमिका रहँदैन् ।
भूमिका नभएता पनि कर्पोरेट गभर्नेन्स राम्रो राख्ने कुरामा हाम्रो भूमिका हुन्छ । आफैं सुशासनमा बसेर काम गर्ने हो भने तल केही पनि बिग्रिदैँन् । सुशासनको कुरामा सञ्चालक तहमा नै कमजोरी छ । ठूलो कमजोरी ब्रान्च र त्यहाँका मान्छेहरुले गलत नियतले लोन वितरण गरिरहेका छन् । ग्राहकलाई लोनका लागि लोन दिने मात्र काम भएको छ । राम्रो तरिकाले काम नहुने र सम्झौता हुने गरेको छ । संस्थागत सुशासन तलदेखि माथिसम्म गर्नुपर्ने छ । धेरै संस्थामा यस्तैखाले समस्या छ । धेरै कुराको चुनौति संस्थाभित्र छ ।
माइक्रोफाइनान्स भनेको बैंक हो, सहकारी होइन् भन्ने कुरामा अन्योलता सरकारले नै सिर्जना गरिदिएको छ । माइक्रोफाइनान्स बैंकिङ् सेवा हो भन्ने बुझाइमा एकरुपता भएन् । जे गरेपनि हुन्छ भन्ने जस्तो भयो । हाम्रा ग्राहक भनेका गरिब, किसान र महिला हुन् । तर त्यसका लागि सरकारको फण्ड माइक्रोफाइनान्समार्फत च्यानलिङ् भएको छैन् । त्यो सबै दुरुपयोग भएको छ, अर्बौको फण्ड दुरुपयोग भएको छ ।
माइक्रोफाइनान्सको समस्या के छ भने महंगोमा बैंकबाट लिनुपर्ने वाध्यता छ । कुनै बेला १०, १२, १५, १६ प्रतिशतसम्म बैंकले चार्ज गर्ने गरेको थियो । अहिले पनि ९ प्रतिशत चार्ज लाग्छ । अब हामीले पनि त्यो भन्दा कममा दिन सक्दैनौ नि । अहिले राष्ट्र बैंकले २ प्रतिशतमा पैसा उठाई रहेकोछ । दुई प्रतिशतमा बैंकले उठाएर माइक्रोफाइनान्सलाई ३ प्रतिशतमा दिने हो भने माइक्रोफाइनान्सले ६ प्रतिशतमा जनतालाई दिने हो भने त ठूलो योगदान हुन्छ ।
हाम्रो साझा मुद्दा
यतिबेला हामीले उठाइरहेको मुद्दा भनेको मर्जन नीतिमा परिमार्जन गर्नुपर्यो भन्ने हो । माइक्रोफाइनान्सहरुको मर्ज माइक्रोफाइनान्ससँग मात्र नभएर बैंकसँग पनि हुनुपर्छ भन्ने हो । आइटी कम्पनीसँग पनि हुनुपर्यो र पीएसपीसँग हुनुपर्यो भन्ने हो । दोस्रो कुरा भनेको माइक्रोफाइनान्सलाई बैंकको रुपमा चिनाउन राष्ट्र बैंकले पहल गर्नुपर्छ र नीतिगत तहमा पनि त्यसमा काम गर्नुपर्छ भन्ने हो । कष्ट अफ फण्ड कम गर्नुपर्यो ताकि जनतालाई १५ प्रतिशत होइन १० प्रतिशतमा कसरी झार्ने भन्ने हुनुपर्यो ।
तेस्रो कुरा भनेको आधुनिक प्रवृत्तिको समयमा माइक्रोफाइनान्समा प्रविधिको एकदमै जरुरी छ । त्यसको लागि एउटा प्रविधिमैत्री बनाउनुपर्छ । त्यसको लागि राष्ट्र बैंककै ठूलो भूमिका रहन्छ । राष्ट्र बैंकले यसलाई नीति र नियमहरुमा तर्जुमा गर्नैपर्छ ।
उदाहरणका लागि लोन लिंदा अनलाइनबाट मिल्दैन् । प्रत्यक्ष उपस्थित भएर तमसुकमा ल्याप्चे लगाउनैपर्छ । ल्याप्चेको कुरा हटाएर ओटीभी, पासपोर्ट लगायतका विधिहरु प्रयोग गर्नुपर्छ । ग्राहकले घरबाटै बसेर काम गर्न सकोस भन्ने मानसिकतामा काम गरिनुपर्छ । यसबाट पनि माइक्रोफाइनान्सको कष्ट घट्छ । त्यो कष्ट घट्नु भनेको हामीले दिने लोनमा कर घट्छ, यो कर घट्नु भनेको जनता सहयोग हुनु हो । यस्ता नीतिहरुमा परिवर्तन गर्नको लागि राष्ट्र बैंकलाई भनेका छौ र यसमा राष्ट्र बैंक पनि सकरात्मक देखिन्छ ।
विभेदका बीच आशा
यहाँ विभेदको कुरा पनि गर्न जरुरी छ । हरेक क्षेत्र विभेद अझै कायम छ । मैंले पनि विभेद जन्मेदेखि नै भोग्दै आएको छु ।
व्यवसायमा पनि सोही किसिमको विभेद कायम छ । सुरुमा काठमाडौं आउँदा पढाइमा जुम्लेली भनेर विभेद गर्ने, त्यसपछि विदेश गएपछि नेपाली गरिब देशका हुन भनेर विभेद गर्ने प्रचलन कायमै छ । व्यवसाय गर्छु भनेर नेपाल आएँ तर मान्छेहरुले विभेदको दृष्टिले हेरिरहेका छन् । म सँग पैसा आकाशबाट आएकोजस्तो गरेर व्यवहार गरिरहेका छन् ।
हुँदा हुँदा सेक्टरमा पनि विभेद भोगिरहेका छौं । जनतामा बैंकबाट लिएको कर्जा तिर्नुपर्छ भन्ने छ तर सहकारी र माइक्रोफाइनान्सबाट लिएको कर्जा तिर्नु पर्दैैन भन्ने सोच छ । यो पनि विभेद नै हो । वास्तवमा कर्जा भनेको जसबाट लिएपनि तिर्नुपर्छ ।
यतिबेला हामीले १२–१३ अर्ब पैसा परिचालन गरिरहेका छौ । त्यसमध्ये करिब साढे चार अर्ब पैसा गाउँमा रहेका एकदमै गरिवको पैसा डिपोजिट भएको छ । जसको कूल सम्पत्ति बेच्यो भने पाँच लाख पैसा पनि आउँछ कि आउँदैन् । उसले ५० हजार हामी कहाँ डिपोजिट गरेको छ । उनीहरुको ५० हजार डुब्नु भनेको धेरै डुब्नु हो । तरपनि जनतामा विभेदकारी व्यवहारहरु भइरहेका छन् । लघुवित्त भनेका पनि बैंक नै हुन्, यो बैंक डुब्नु भनेको धेरै गरिबहरु डुब्नु हो ।
त्यसैले हामी सबैले वित्तिय अनुशासन कायम राख्नुपर्छ । संसारमा फाइनान्सियल अनुशासन व्यक्तिमा छैन् भने त्यो व्यक्ति पनि राम्रो हुन सकेको पाइँदैन् । अनुशासन संस्थामा छैन भने संस्था राम्रो हुन सक्दैँन् । राज्यमा छैन् भने राज्य पनि राम्रो हुन सक्दैँन् । त्यसैले सबैले वित्तिय अनुशासन कायम राखौं ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा