सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन बाटो खुल्ला गरिदिएको छ।
उच्च अदालत पोखराका न्यायाधिशद्वय न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको इजलासले यही पुस १६ गते फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन महानगरले जारी गरेको सुचनाबिरुद्ध परेको रिट खारेज गर्दै फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन बाटो खुल्ला गरिदिएको हो ।
फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ । फिर्केखोलाको नापजाँच गरिवरि सकेपछि पोखरा महानगरपालिकाले २०८० कात्तिक १० गते ३५ दिने सूचना निकालेर ‘फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना पूर्णरुपमा हटाउन भनेको थियो ।
महानगरको सूचना आएपछि परेको मुद्दामा उच्च अदालत पोखरामा सोही महिनाको २३ गते रिट परेको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्चका न्यायाधीश मीलनकुमार राईको एकल इजलासले ‘कात्तिक १० गते प्रकाशित सूचनाअनुसारको कुनै कार्य नगर्नू, नगराउनू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश गरेको थियो । त्यही आदेशपछि महानगरले फिर्केमा काम गर्न पाएको थिएन ।
पोखरा महानगरपालिका, महानगरपालिकाका ४, ५, ७ र ८ नम्बर वडालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
राजन रौनियार, फिर्के तमु समाजको तर्फबाट अख्तियार प्राप्त लीलबहादुर गुरुङ, मनीषा वैद्य, शेरबहादुर गुरुङ, भरत कुँवर खाँण, हीरा गुरुङ, सरिता देवकोटा, भगवती अधिकारी, शकुन्तला कुँवर, मनरुपा ढकाल, सम्मरबहादुर कार्की, इन्द्रमणि पौडेल र खिनकुमारी क्षेत्री गरी १३ जनाले रिट दायर गरेका थिए । अन्तरिम आदेशमा रिट निवेदकहरुले दाबीका कित्ता नम्बरका जग्गामा महानगरपालिकाबाट नक्सा पास गरी घर बसोबास भोगचलन गरी आएको भन्ने नक्सा पास तथा जग्गाधनी प्रमाणपुर्जाहरुबाट देखिएको उल्लेख थियो । तर महानगरपालिकाले भने व्यक्तिको नाममा दर्ता भएको वा नक्सा पास भएको संरचना नभई खोलाघरमा बनेका संरचना हटाउन सूचित गरेको थियो ।
महानगपालिकाले पोहोर साउन ४ देखि भदौ २ सम्म गरेको फिर्केको नापजाँचमा १ सय ६० संरचना खोलाघरमै बनेको पत्ता लागेको थियो । लालपुर्जा भएको जमिनसहित खोलाघरसमेत मिचेर वा पूरै खोलाघरमा समेत निजी घर, सार्वजनिक भवन लगायत संरचना बनेको महानगरपालिकाको अध्ययनले देखाएको थियो । ‘हामीले हटाउने भनेका ठाउँमा कसैको लालपुर्जा छैन,’ मेयर आचार्य भन्छन्, ‘तर सम्मानित अदालतबाट अन्तरिम आदेश भएकाले काम रोकिएको थियो ।’
उनका अनुसार महानगरपालिकाले भने भूमिहीन सुकुम्बासीलाई समेत व्यवस्थापन गर्ने योजना बनाएको छ ।
फिर्केको खोलाघर मिचेर भूमिहीन सुकुम्बासीका २८ आवास बनेको अध्ययन प्रतिवेदनमा छ । महानगरपालिकाले प्राविधिक वासुदेव पौडेलको संयोजकत्वमा फिर्केको खोलाघर पत्ता लगाउन अध्ययन गर्दा २०३२ सालको नापीलाई आधार बनाएको थियो । सोही अनुसार खोलाघरको सीमांकन गरी ५ सय ८८ वटा स्तम्भ गाडिएको थियो । तर कतिपय ठाउँमा भने पूरै खोलाघर मिचेर घर निर्माण गरिएको हुँदा स्तम्भ गाड्न पाइएको थिएन ।
पोखरा १८ सराङकोट फेदी अँधेरी कुनाबाट सुरु हुने फिर्केखोला वडा नम्बर २, ४, ५, ६, ७, ८ हुँदै १७ सम्म पुग्छ । फिर्केको गन्तव्य फेवाताल हो । महानगरपालिकाको ‘फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ मा १ सय ६० संरचना खोलाघरमै बनेको उल्लेख छ ।
३५ वटा संरचना खोलाघरमै स्थायी प्रकृतिमा बनेको भेटिएको थियो भने ९७ अस्थायी तवरका थिए । विभिन्न सामाजिक र धार्मिक संस्थाका भवन पनि खोलाघरमै बनेका छन् । फिर्केको खोलाघर कतिपय ठाउँमा ३ दशमलव ३ र कतिपय ठाउँमा ४० मिटरसम्म फराकिलो छ । ८ किलोमिटर लामो खोलाको गहिराइ ४ मिटर रहेको प्रतिवेदनमा उल्लेख छ ।
२० वर्षअघिसम्म पिउनयोग्य फिर्केको पानी अचेल दूषित छ । हिउँद याममा खोला सुक्छ । तर तल्लो भेगमा भने फोहोर पानी बगेको देखिन्छ । कतिपयले बाथरुम र चर्पीसमेत खोलामा मिसाइदिएको हुँदा दूषित पानी बगेको देखिने गरेको छ ।
थुप्रै ठाउँमा ढलसमेत फिर्केमा मिसिएको छ । फोहोर र गेग्रानसमेत फिर्केले पु¥याउँदा २०६० सालयता फेवातालको ११ रोपनी जलीय क्षेत्रफल जमिनमा परिणत भएको अध्ययनले देखाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा