सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, पौष १८ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ बेलवानीमा पाँचवटा कुकुरका बच्चा र माउ कुकुरलाई निर्दयतापूर्वक मारिएको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि प्रहरीले सो घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
२०८१ साल पुस १३ गते, अपराह्न ४:३० बजे, राज कुमार सारु मगर (३३ वर्ष) ले नारायणी नदी छेउ ठांडीघाटस्थित ५ नं. ठोक्करमा उक्त जनावरहरूको हत्या गरेको खुल्न आएको छ। यो घटनाको भिडियो अमन कुमार चिडी मगर (२८ वर्ष) ले खिची आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए।
प्रहरीले २०८१ पुस १७ गते राज कुमार सारु मगर र अमन कुमार चिडी मगरलाई पक्राउ गरी जिल्ला अदालत, नवलपरासी (ब.सु.प) बाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यो घटना मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत पर्ने भन्दै आवश्यक कारबाही थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
यस घटनाले जनावर अधिकारको सवालमा गम्भीर बहस छेडेको छ। निर्दोष जनावरमाथि गरिएको यस्तो अमानवीय व्यवहारले समाजमा जनावरप्रतिको दयाभावको अभाव देखाएको टिप्पणी हुँदै आएको छ।
यस्तो घटनालाई पुनः दोहोरिन नदिन कडा कानूनी कारबाही र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयहरूको माग छ।
प्रहरी प्रशासनले यस्ता घटनालाई गम्भीरताका साथ हेर्ने र पशुपन्छी संरक्षणका लागि जनचेतना फैलाउने प्रतिबद्धता जनाएको छ। साथै, जनावरमाथि दुव्र्यवहार भएको देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
यो घटना जनावर अधिकार र कानूनी प्रक्रियाका लागि महत्वपूर्ण मुद्दा बन्नसक्ने देखिन्छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा