सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ पौष । श्रष्टा एवम् कृषि वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायको स्वर र रचनामा रहेको ‘गरौँ न शुभ काम’ बोलको गीत सार्वजनिक भएको छ । समकालीन समाजमा अनास्था, घृणा, निन्दा र नकारात्मकताले यत्रयत्र गाँजिरहेका बेला यो गीतले मानव जातिलाई आस्थावान हुन र केही न केही शुभ कार्यमा लागिरहन आह्वान गरेको छ ।
एक जना परिपक्व मानिसका मनमा जीवन र जगत बारे उर्लेका भावहरुलाई गीतमा मार्मिकरुपले समेटिएको छ । गीतको लय, मीठास, स्वर र संगीतको संयोजन मिलेको छ । गीतमा संगीत दिपक पाठकको रहेको छ भने एरेञ्ज र मिक्सिंग विश्व अधिकारीको छ । सुष्मा त्रिपाठी र दर्पण उपाध्याय निर्माता रहेको यो गीतलाई डा. उपाध्यायले आफ्नै च्यानलबाट सार्वजनिक गरेका हुन् ।
डा. उपाध्याय नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख हुन् । सानैदेखि गीत गाउन, लेख्न र बालबालिकालाई सिकाउन रुचि राख्ने उनी स्कूल र कलेजका स्टेजहरुमा राम्रो सांगितिक प्रदर्शन गर्दथे । उनी १७ वर्षको उमेरमा पक्लिहवा कृषि क्याम्पसमा पढ्दा रेयुकाइ सँस्थाले आयोजना गरेको रुपन्देही जिल्लाव्यापी लोकगीत प्रतियोगितामा आफैले तयार गरेको गीत गाएर प्रथम भएका थिए । पक्लिहवा र रामपुर क्याम्पसमा आयोजना हुने कविता, गायन र हाजिरीजवाफ प्रतियोगितामा सँधै अब्बल रहने उपाध्यायले सन् १९९२ मा एम्नेष्टी इन्टरनेशनलले आयोजना गरेको चितवन जिल्लाव्यापी कविता प्रतियोगितामा मानव अधिकार विषयक कविता वाचन गरेर तृतीय भएका थिए र उक्त कविता एम्नेष्टी नेपालको मुखपत्रमा छापिएको थियो । यसै गरी वि. सं. २०५३ सालमा चितवन जिल्ला स्तरीय हास्य कविता प्रतियोगितामा घोडा शीर्षकको कविता वाचन गरेर प्रथम भएका थिए । यस्ता दर्जनौँ प्रतियोगितामा सफल भए पनि अध्ययन, अनुसन्धान र खोजमा समय दिनुपर्दा सांगितिक यात्रा स्थगित भएको उनको भनाइ छ । गाउँघर र स्कूल कलेजमा उनलाई चिन्नेहरुले बहुप्रतिभा भएको व्यक्ति भनेर चिन्छन । हामोनियम, बाँसुरी, मादल जस्ता बाजाहरुको अधारभूत ज्ञान र सीप भएका डा. उपाध्याय वि.सं. २०५५ सालदेखि नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत छन् ।
परिषद् अन्तर्गत कृषि अनुसनधान निर्देशनालय लुम्ले र राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारमा लामो समय काम गरेका डा. उपाध्यायका कृषि अनुसन्धान सम्बन्धि दर्जनौँ अनुसन्धान कृतिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
वागवानी विषयमा दखल रहेका उपाध्यायले कृषिका विभिन्न पुस्तकपुस्तिका लेख्नुका अतिरिक्त गुरुदक्षिणा, लोकगीतमा कृषि प्रविधिः एक अध्ययन जस्ता साहित्यक कृतिहरु पनि प्रकाशित गरेका छन् । उनको कृषिका किंवदन्तीहरु शीर्षकको पुस्तक यसै वर्ष प्रकाशन हुने तयारीमा छ । कृषिमा लामो समय योगदान गरेका तर वर्तमानमा गुमनाम जस्तै रहेका अग्रजहरुलाई खोजीखोजी उनीहरुका अनुभव संकलन गरिरहेका डा. उपाध्याय बहुआयामिक व्यक्तित्वका रुपमा सँस्थाभित्र परिचित छन् । धेरै समयको अन्तरालपछि निरन्तरता पाएको डा. उपाध्यायको सांगितिक यात्रा पनि सफल हुने अपेक्षा गरिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा