सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ पौष । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने यस खेलले प्रतियोगिताको उपाधि विजेता तय गर्नेछ।
बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
कर्णालीले टस हारेर ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रनको स्कोर खडा गर्यो। कर्णालीका ओपनर देव खनालले २४ रन बनाए भने गुल्सन झाले २५ रनको योगदान दिए। जनकपुरका बलर जिमी निशम, ललितनारायण राजवंशी, र मोहमद मोहसिनले उत्कृष्ट प्रदर्शन गर्दै २-२ विकेट लिए।
११९ रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले सुरुवातमै शीर्ष तीन विकेट गुमाए। शुभ कंसाकार, कप्तान आसिफ शेख, र लाहिरू मिलान्था सस्तैमा आउट भए। जिमी निशमले १७ बलमा ४५ रनको विस्फोटक इनिङ्स खेलेर टोलीलाई जितको नजिक पुर्याए।
तर विपिन शर्माले जिमीलाई बोल्ड गरेपछि खेलले तनावपूर्ण मोड लिएको थियो। अन्ततः शेर मल्लको नटआउट १६ रनले जनकपुरलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो।
जारी प्रतियोगितामा सुदूरपश्चिम र जनकपुरबीचको यो तेस्रो भिडन्त हुनेछ। यसअघि लिग चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरिसकेको छ। फाइनलमा जनकपुरले ती हारको बदला लिने मौका पाउनेछ।
फाइनल खेल शनिबार मध्यान्ह १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। उपाधिका लागि दुवै टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
क्रिकेटप्रेमीहरू फाइनल खेलको प्रतीक्षामा छन्, जसले यस सिजनको उत्कृष्ट टोलीलाई निर्धारित गर्नेछ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा