सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो ।
जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।
पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । गौस ठूलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए । अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाए ।
पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए । हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए ।
उनले त्यससमय ४ बलमा ४ रन बनाएका थिए । थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए ।
दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए । त्यसपछि क्रिजमा आएका दिलिप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए । एघारौं ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए ।
मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भन्डारीले स्टपीङ गरे ।
छैठौं विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे । राइफरले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । राइफर ठुलो सटको प्रयासमा बाउन्ड्रिमा नरेन साउदबाट समातिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए ।
१८.१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुँदै स्कट कुगेलेन क्रिजमा आएका थिए । इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए । एनपिएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन् ।
कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । उनी सागरबाट एलबिडब्लु भए । विनोद भन्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए । हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए ।
पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए ।
सुदूरपश्चिम यो खेलमा जितका साथ शीर्ष स्थानमा उक्लिदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बन्न चाहन्छ । जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णालीको सामना गर्नेछ । सोमबार लिगमा एकमात्र खेल हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा