सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ मंसिर । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्यसहित एक महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको छ। कुमारी क्यापिटल, जो नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, र संस्थागत परामर्श सेवामा स्थापित छ, र भारतको ध्रुव क्यापिटल, जुन एक गैर-बैंकिङ वित्तीय संस्था हो, बीच यो सहकार्यले नेपालमा लगानीको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। ध्रुव क्यापिटल भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा इजाजतपत्र प्राप्त संस्था हो, जसले विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्ने लक्ष्य राखेको छ।
सम्झौताअनुसार, ध्रुव क्यापिटलले नेपालको सूचीकृत तथा गैर-सूचीकृत कम्पनीहरू, जलविद्युत परियोजनाहरू, र अन्य सम्भावनायुक्त क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ।
कम्पनीले विशेषगरी संस्थापक शेयरहरू, वित्तीय उपकरणहरू, र रणनीतिक परियोजनामा लगानी गरी नेपालको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यी लगानीहरू नेपालका ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रमा केन्द्रित हुनेछ, जसले दिगो विकासको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
कुमारी क्यापिटलले नेपालमा लगानीका अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाहरूको मूल्यांकन, र ध्रुव क्यापिटलका लागि लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग गर्नेछ। सहकार्यले विशेषगरी नेपालमा वैदेशिक लगानी सहज बनाउँदै लगानीकर्तालाई सहजीकरण प्रदान गर्ने भूमिका खेल्नेछ।
सम्झौता हस्ताक्षर समारोहमा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यो साझेदारीलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि महत्त्वपूर्ण कदमका रूपमा रहेको बताए। उनले नेपालमा बैदेशिक लगानीको वातावरण सुधार्न र आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याउन यो सहकार्यले योगदान दिने विश्वास व्यक्त गरे। त्यस्तै, ध्रुव क्यापिटलका प्रतिनिधिले नेपाललाई सम्भावनायुक्त बजारका रूपमा हेरेको उल्लेख गर्दै, कुमारी क्यापिटलसँगको सहकार्यले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउने धारणा राखे।
यो साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाह तीव्र बनाउनुका साथै आर्थिक विकासका लागि नवीन सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुई पक्षबीचको सहकार्यले नेपालको क्यापिटल मार्केटलाई सुदृढ बनाउनुका साथै ऊर्जा र वित्तीय क्षेत्रमा दीर्घकालीन फाइदा पुर्याउने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा