सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु. १० लाख नगद रकम प्रदान गरेको छ। यस रकमको उद्देश्य आर्थिक रूपमा कमजोर बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने समता एजुकेसन फाउन्डेसनको शैक्षिक पहललाई सहयोग गर्नु हो।
एक समारोहका बीच कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै, अग्रवालले समता एजुकेसन फाउन्डेसनको शैक्षिक अभियानको सराहना गर्दै यसलाई राष्ट्र निर्माणमा एक महत्वपूर्ण कदम भने। उनले कम्पनीको तर्फबाट भविष्यमा पनि शिक्षा क्षेत्रको विकासमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले देशको समृद्धि र विकासका लागि गुणस्तरीय शिक्षा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै समता एजुकेसन फाउन्डेसनलाई सहयोग गर्दा राष्ट्रले दक्ष जनशक्ति पाउने विश्वास व्यक्त गरे।
समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले संस्थाको २३ वर्षको इतिहास प्रस्तुत गर्दै यसले ७७ जिल्लाका ३० हजार विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको बताए। उनले भने, “हामीले विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त गर्दै विद्यालय चलाइरहेका छौं, तर दीर्घकालीन स्थिरता सुनिश्चित गर्न अक्षय कोषको निर्माण आवश्यक छ। नेपाल लाइफको यो सहयोगले हामीलाई उक्त कोष निर्माण गर्न मद्दत पुर्याउनेछ।”
समता एजुकेसन फाउन्डेसनले देशभरि विशेष गरी आर्थिक रुपमा कमजोर बालबालिकाहरुलाई नर्सरीदेखि स्नातकोत्तर तहसम्म अङ्ग्रेजी माध्यममा गुणवत्तापूर्ण शिक्षा प्रदान गर्दै आएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको यस पहलले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ धेरै विद्यार्थीहरूको जीवनमा परिवर्तन ल्याउने विश्वास गरिएको छ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा