सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने सपना बोकेर मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न यस रोमाञ्चक फाइनल खेलमा बंगलादेशले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हरायो ।
यो जितसँगै बंगलादेशले २०२२ को साफ फाइनलमा नेपाललाई पराजित गर्दै जितेको पहिलो उपाधिलाई पुनः रक्षा गर्न सफल भएको छ ।
नेपालले भने छैटौं पटक साफको फाइनलमा पराजय भोग्नुपरेको छ ।
पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट रक्षात्मक खेल खेले, जसमा कुनै पनि गोल हुन सकेन ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले बलियो आक्रमण गर्दै विपक्षी डिफेन्सलाई दबाबमा राखेका थिए ।
खेलको प्रारम्भिक १० मिनेटमा नै नेपाल र बंगलादेश दुवैको प्रहार क्रसबारमा लागेको थियो । खेलाडीहरूले उत्कृष्ट रणनीतिका साथ आक्रमण र रक्षामा योगदान दिए पनि गोलरक्षकहरूले लगातार उत्कृष्ट बचाउ गर्दै पहिलो हाफलाई गोलरहित बनाए ।
दोस्रो हाफमा खेलमा रोमाञ्चक मोड आयो। खेलको ५२औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै नेपालविरुद्ध १–० को अग्रता लियो ।
बंगलादेशकी खेलाडी मोनिका चक्माले नेपालको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रबाट सानदार प्रहार गरिन्, जसमा गोलरक्षक एन्जिलाले रोक्न नसकेपछि गोल भएको थियो । यो गोलसँगै बंगलादेशले खेलमा अग्रता लिएको थियो र दर्शकहरूले पनि चर्को समर्थन दिए ।
बंगलादेशको गोलपछि मात्र तीन मिनेटमै नेपालले बराबरी गोल गर्न सफल भयो । खेलको ५५औं मिनेटमा नेपालकी युवा स्ट्राइकर अमिशा कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई पुनः खेलमा फर्काइन् ।
प्रिती राईको मिडफिल्डबाट आएको सटीक पासमा अमिशाले विपक्षीको रक्षालाई छल्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरिन् र सानदार प्रहार गरी गोल गरिन् । यो गोलले नेपाली समर्थकहरूलाई नयाँ जोश थप्यो र खेल थप रोमाञ्चक बन्यो ।
खेलको अन्तिमतिर नेपाल र बंगलादेश दुवैले आक्रमणको गति बढाए । खेलको ८०औं मिनेटमा बंगलादेशले पुनः अग्रता लियो, जुन निर्णायक साबित भयो ।
बंगलादेशकी ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक एन्जिलाले बचाउन नसक्दा बल सिधै गोलमा परिणत भयो। एन्जिलाले एक हातले बललाई रोक्न प्रयास गरे तापनि गोल हुनबाट बचाउन असमर्थ भइन् ।
यो गोलले बंगलादेशलाई २–१ को अग्रता दिलायो, जसलाई अन्तिम समयसम्म कायम राख्न बंगलादेश सफल रह्यो । खेलको बाँकी समयमा नेपालले बराबरीको गोल गर्ने प्रयास जारी राख्यो, तर बंगलादेशको रक्षा पंक्तिले नेपाली आक्रमणलाई सफल हुन दिएन ।
यस जितसँगै बंगलादेशले साफ महिला च्याम्पियनसिपको लगातार दोस्रो उपाधि जित्न सफल भएको छ । २०२२ मा पनि बंगलादेशले नेपाललाई नै पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ अफिसर प्रदीप तिमल्सिनाले नेपालीहरुमा मानसिक रोगकाबारे खुलेर भन्न हिच्किचाउने कारणले पनि समस्या झन बढेको... विस्तृतमा