सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा। सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसन वापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएका छन् ।
आर्थिक वर्षको अन्त्य गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाख भन्दा माथि रकम जम्मा भएको छ । लगभग १० लाख जति उनले नगदै पनि बुझिलिएका छन् ।
औरही पालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशिल यादवसँग प्रमुख प्रशासकीय अधिकृत झाले २१ हजार कमिसन लिए । वन अधिकृत यादव भन्छन,“समृद्धिको लागि वन परियोजना इकाईमा म कार्यरत छु । जनतालाई भुक्तानी नदिंदा मेरो खप्पर फुटाउने र कमिसन नदिए हाकिम झाले चेकमा हस्ताक्षर नगरिदिने । ८८ हजारको चेक लिन बाध्य भएर नगद १५ हजार दिएँ तर उनले मानेनन् । २१ हजार लिएरै छाडे । मेरो बैंक खाताबाट उनको खातामा ६ हजार ट्रान्सफर गरिदिएँ पछि बल्ल चेकमा सही गरिदिए । उनले भने गत साउन ७ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको मेरो खाताबाट उनको सिद्धार्थ बैंकमा रहेको खाता नं. ×××××१८३८०९ मा ६ हजार रकम पठाएँ । ”
वन अधिकृत यादव भन्छन् , “मेरो भत्तावापतको रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो । ” यादवले भने, ओभरसियर मनोज कुमार यादवले त नगद १ लाख बुझाए पछि उनको सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन् , म अख्तियारमा गएर पनि यति कुरा वयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु । उनले थपे घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।
औरहीकै प्रताप कुमार यादवले रातको १ बजे ९८××७०२४९५ नं.बाट ईसेवामार्फत रुपैयाँ १२ हजार झाको ईसेवामा रकम हस्तान्तरण गरेपछि उनको चेकमा हस्ताक्षर गरियो । रमानन्द यादवले पाउने भुक्तानीको ५ वटा चेक काटिएको थियो । उनले कमिसन नदिने भनेपछि प्रमुख प्रशासकीय अधिकृत झाले उनकै अगाडि ५ वटै चेक च्यात्तचुत्त पारेर फालिदिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरुमा सव इन्जिनियर आनन्द यादव , इन्जिनियर दीपेन्द्र यादव, सव इन्जिनियर बीरेन्द्र कुमार सिंह, इन्जिनियर सुरेन्द्र कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् ।
उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरुले आ–आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।
जो जसको भुक्तानी लिनु पर्ने थियो उनीहरु सबै कमिसन रकम बोकेर जनकपुर जानु परेको र उनले त्यहाँ पालिकाले भाडा तिर्ने गरी गोप्य रुपमा खडा गरेकोे सेटलाइट कार्यालयमा बसेर कमिसन बुझ्दै चेक दिंदै गरेका थिए ।
सिरहा क्याम्पसका स्ववियु सभापति दीपेन्द्र कुमार यादव भन्छन् , “पालिका अध्यक्ष यादव र लेखापाल यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई छल्न खोजेका थिए । तर चलाख झालाई कागताली प¥यो । झाले दुबै जनालाई थाङ्ना सुताए । अध्यक्ष यादव र लेखापाल यादव झाको अगाडि जुठो लोटाएको गोबर झैं भए । जनकपुर बसेर सम्पूर्ण कमिसन रकम असुले पछि एक दिन अचानक पालिकामा आएर हतार हतार हाजिरी गरेर फेरि जनकपुर गए । झा अझैसम्म फर्केर पालिका आएका छैनन् । सायद उनी आउँदैनन् पनि । ”
घटना विवरण अनुसार गत असार २४ गते राति औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र लेखापाल देवेन्द्र यादव पालिका भवन छोडेर सदरमुकामस्थित कुनै अज्ञात स्थलमा बसेर चेक काट्न थाले । पालिका अध्यक्ष र लेखापालले दुबै जनाले मोवाइलको स्वीच अफ गरिदिए । प्रमुख प्रशासकीय अधिकृत झाले उनीहरु दुबै जनासँग सम्पर्क गर्न खोजे तर असार २५ गते दिउँसो मात्र सम्पर्क हुनसक्यो । आफूलाई थाहै नदिई अज्ञात स्थलमा गएर अध्यक्ष र लेखापालले मनमौजी भुक्तानीको चेक काटेको भन्दै प्रमुख प्रशासकीय अधिकृत झा रिसाएर जनकपुरस्थित आफ्नो घर गएर बसिदिए ।
झा भन्छन् , “म प्रमुख प्रशासकीय अधिकृत हुँ । मैले टिप्पणी सदर गरेर भुक्तानी आदेश दिने र चेकमा हस्ताक्षर गर्ने अधिकार मेरो हो । अनि मलाई नै जानकारी नदिई अज्ञात स्थलमा गएर मनमौजी चेक काटेकोले म पालिका छोडेर घर आएँ । मैले भनिदिएँ ल लेखापालको एकल हस्ताक्षरयुक्त चेकबाट भुक्तानी लिनुस् । म टिप्पणी पनि सदर गर्दिन । ”
प्रमुख प्रशासकीय अधिकृत रिसाएर घर गइदिएपछि पालिका अध्यक्ष यादव र लेखापाल यादव परिवन्धमा परे । टिप्पणी सदर नगराई चेक बनाइएको छ । एकल हस्ताक्षरबाट चेक साटिदैन । यता भुक्तानीको चेक लिन उपभोक्ता समिति , ठेकेदारहरु र सप्लायर्सहरु दिनका दिन पालिका घेरेर बसेका छन् । पालिका अध्यक्ष यादव भन्छन् , “हामी त गलपासोमा परे जस्तै भयौं । भिडमा चेक काट्न मुस्किल हुन्छ भनेर एकान्तमा गएका थियौं तर प्रमुख प्रशासकीय अधिकृत झाले अत्तो थापेर हामीलाई परिवन्दमा पारे । यता जनताले पालिका घेरा हालेका छन् । उता हाकिम झा पालिका आउन मान्दैनन् र चेकमा हस्ताक्षर गर्न मान्दैनन् । अध्यक्ष यादव भन्छन् – “त्यतिबेला हाम्रो अवस्था गदहालाई बाउ भन्नु परे पनि स्वीकार गर्नु पर्ने थियो । हामी विलखवन्दमा परेका थियौं । हामीले जनकपुर गएर प्रमुख प्रशासकीय अधिकृत झासँग वार्ता ग¥यौं । उनको हरेक शर्त मान्यौं । त्यसपछि पनि उनी पालिका आउन मानेनन् । जनकपुरमै बसेर चेकमा हस्ताक्षर गरिदिने सहमति जनाए । हामीले मान्नै प¥यो । सबै फाइल र चेक बोकेर जनकपुर गयौं । उनले भने अह्राए अनुसार शर्त पूरा गरेर चेकमा हस्ताक्षर गरायौं । ”
औरही पालिकामा कार्यरत एक इन्जिनियरले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार प्रमुख प्रशासकीय अधिकृत झाले हरेक चेकको २० प्रतिशत रकम नगद वा बैंक खातामा जम्मा गरेपछि टिप्पणी सदर गरेर त्यस–त्यस चेकमा हस्ताक्षर गरिदिए । पालिका अध्यक्ष यादव र लेखापाल यादवको बठ्याई प्रमुख प्रशासकीय अधिकृत झाको अगाडि लम्पसार प¥यो । दुबैलाई कक्रयाएर घर बसी–बसी २० लाखभन्दा अधिक कमिसन कुमल्याए ।
स्थानीय पत्रकार सन्तोष यादव भन्छन् , घुस र कमिसन लिएको धेरै घटनाको समाचार लेखियो तर यसरी बैंक खातामै हाकाहाकी घुस र कमिसनको रकम जम्मा गर्न लगाउने दुस्साहास गर्ने पहिलो सरकारी अधिकारी देखियो । पत्रकार यादव भन्छन् , औरही पालिकाका आधा दर्जन कर्मचारी र स्वयं पालिका अध्यक्षले छोरामार्फत ईसेवा र मोवाइल बैंकिङ्गबाट झाको खातामा रकम जम्मा गरिदिएका छन् । पत्रकार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस घटनातर्फ ध्यानआकृष्ट गराउँदै छानविन गर्न माग गरेका छन् । पत्रकार यादव भन्छन् औरहीका सबै कर्मचारीको बैंक खाता र प्रमुख प्रशासकीय अधिकृत झाको सबै बैंक खाताको छानविन हुनुपर्छ ।
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झाको प्रतिक्रिया माग्दा उनले बैंक खातामा रकम जम्मा गर्न लगाएको स्वीकार गरे । उनले भने , “मैले सापटी दिएको रकम फिर्ता लिएको हुँ , घुस र कमिसन लिएको होइन । ”
आर्थिक वर्षको अन्त्यमा अर्थात असार २८ गतेदेखि साउनको ८ गतेसम्म आधा दर्जन व्यक्तिसँग कैफियत महलमा सापटी फिर्ता लेख्न लगाएर रकम जम्मा गराउनु घुस वा कमिसन होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, “ केही फरक पर्दैन । छानविन गर्नेले गरोस् । परेको बेहोर्न तयार छु । ”
कुन कुन मितिमा क–कसलाई कति कति रकम सापटी दिनुभएको थियो ? सापटी दिंदा बैंकमार्फत नै दिनुभएको थियो त ? भन्ने प्रश्नमा झाले प्रतिप्रश्न गर्दै भने , “त्यो मेरो व्यक्तिगत लेनदेन तपार्इंलाई किन भन्ने ? ”
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा