सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डा.सुर्वण पौडेल
आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो । आयुर्वेदिक उपचारले विशेषगरी आहारविहारमा जोड दिनेगर्छ । जरैबाट रोग निको बनाउने सिद्धान्त र विधि हो यो । एलोप्याथिकमा एक्सन र रिएक्सन दुवै छिटोगरी हुन्छ । तर आयुर्वेदिकमा ढिला गरी औषधीले काम गर्छ । रोगलाई निको पार्नको लागि शरीरमा सुधारको आवश्यकता पर्छ । जसको लागि केही समय धैर्य गर्नुपर्छ । हाम्रो नेपाली समाज र मानिसहरु कस्तो प्रवृतिको हुनुहुन्छ भने केही भैहाल्यो भने फार्मेसीबाट जति पैसा तिरेर डाक्टरलाई नसोधी औषधि किनेर खाइदिने गर्नुहुन्छ । डाक्टर शुल्कका कारण नै डाक्टरबाट भागेको होकि भन्ने लाग्छ । तर आयुर्वेदिक आर्थिक रुपमा बोझिलो हुँदैन । साइट इफेक्टपनि हुँदैन ।
म विरामीहरुका लागि एक सय रुपैंयाँ मात्र ओपीडी शुल्क लिने गर्छु ।
मेरो चाहना के हो भने शुल्क घटाइदिए कमसेकम धेरैले आफ्नो स्वास्थ्यलाई पैसाकै कारण डाक्टरसम्म नपुगी फार्मेसीबाट औषधि लिएर खेलवाड नगरुन् भन्ने हो । मैले एक सय रुपैयाँ शुल्क निर्धारण गर्नुको उद्देश्य आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढाउनु पनि हो । मेरो चाहना भनेको बिरामीले रोग बुझेर उपचार गरुन्, डाक्टहरुको उपचार र निगरानी चाहिन्छ भन्ने कुरा सबैले थाहा पाउन् भन्ने पनि हो । बर्षौदेखि रोग पालेर बसेका बिरामीहरुलाई यसले सहज गराउँछ । कम्तिमा विरामीले डाक्टरसँग सल्लाह नगरि जथाभावी औषधि खान हुँदैन भनेर सम्झाउन, बुझाउन सकें भने उसले परिवार र अरुलाई पनि त्यो कुरा बताउँछ भन्नेमा विश्वस्त छु ।
एलोपेथिक औषधि प्रयोग गरेकालाई आयुर्वेदिक औषधिले काम गर्दैन भन्ने बुझाई एकदमै गलत छ । एलोपेथिक औषधि खाएकाले आयुर्वेदिक औषधि नै खान नहुने भन्ने बुझाई पनि गलत हो । तर एलोपेथिकबाट सुगरको औषधि खाइरहेका बिरामीले आयुर्वेदबाट पनि सुगरकै औषधि खानु हुँदैन । प्रेसरको पनि दुवै औषधि खानु हुँदैन । डाक्टरसँग परामर्श गर्नु अनिवार्य छ । कुन रोगीलाई कुन औषधि कसरी खुवाउने भन्ने कुरा फरक हो तर आयुर्वेदिक खानेले एलोपेथिक र एलोपेथिक खानेले आयुर्वेदिक औषधि खानै नहुने भन्ने होइन ।
सबैभन्दा ठूलो आयुर्वेदिक उपचार पद्धति र जडिबुटीको महत्व नबुझेका कारण समस्या आइरहेको छ । आममानिसमा मात्र होइन सरकारलाई पनि आयुर्वेदिक उपचार र यसको महत्वबार चासो छैन । हाम्रा विश्वविद्यालयहरुमा एमवीबीएस पढ्नेको लाइन हुन्छ तर आयुर्वेदिक चिकित्सक वा विएएमएस पढ्नलाई कोटा पुर्याउनै गाह्रो छ । मुख्य कुरा सरकारी तवरबाटै भोलि यो क्षेत्रमा भविष्य सुरक्षित छ, उपचारको प्रभावकारी विधि आयुर्वेद पनि छ भन्ने बनाइदिए यो क्षेत्र माथि जाने थियो ।
अहिले विज्ञानको जमाना छ । जहाँ पनि प्रमाण चाहिने भएकाले देखाउनुपर्छ । तर, आयुर्वेदमा पर्याप्त अध्ययनहरु भएको छैन । अपग्रेड गर्ने काम भएको छैन । त्यसैले आयुर्वेद पछाडि परेको छ । एलोप्याथिक अहिले यति माथि जानुमा त्यसको प्रथम विन्दु नै आयुर्वेद हो । ब्रम्हाले मान्छे मात्रै उत्पत्ति गरेनन् सँगसँगै उपचारका लागि भनेर आयुर्वेदको पनि रचना गरेका थिए ।
आयुर्वेदमा रिसर्च गरेर काम गर्ने हो भने यसको बृहत्तर ठाउँ छ । आयुर्वेद बारेमा कसरी स्तर उन्नति गर्ने गराउने भन्ने बारेमा राम्रोसँग बहस भएको छैन । त्यसले यसबारे आकर्षण कम भएको देखिन्छ । आकर्षण कम हुनासाथ लगानी पनि कम भयो । जस्तो एलोपेथिक अस्पताल जिल्ला वा सेन्टरमा बनाइएको हुन्छ त्यहाँ करोडौं बजेट दिइन्छ । आयुर्वेदिक अस्पताल कि दूरदराज कि जंगलसाइडमा राखिएको छ । डाक्टरहरु बस्न डराउनुपर्ने, बिरामीलाई पायक पनि नपर्ने अनि आयुर्वेदले प्रगती कसरी गर्छ ? सरकारले धेरै पक्षपात गरेको विषय आयुर्वेद पनि हो ।
नेपालमा जडिबुटीको सम्भावना धेरै छ । जटिबुटीहरु नभएका होइनन् त्यसलाई प्रशोधन गर्नेदेखि खोज अनुसन्धान र विस्तारमा सरकारीस्तरबाट केही पहल नै भएको छैन । कस्तो भैरहेको छ भने अहिले हामी क्विन्टलमा जडिबुटी टिपेर भारत लगायतका देशमा निर्यात गरिरहेका छौं । अनि त्यहाँबाटै ट्यावलेट किनेर ल्याइराखेका छौं । सम्भावना अथाह छ तर सरकारले प्रोत्साहन गर्न सकेको छैन । जति गरेको छ नीजि क्षेत्रले गरेको छ ।
(काठमाडौं कलंकीस्थित मेदान्त आयुर्वेद हेल्थ होममा कार्यरत डा.पौडेलसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा