सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शिर्षक पढ्दा पक्कै पनि तपाईहरु सबैलाई अनौठो लागेको होला, अझै भनौ अप्रात्यिलो र अविश्वसनीय लाग्यो होला । हुनपनि आजसम्म गाउंठाउं, छरछिमेक कतै पनि पुरुषले महिला परिवारलाई दाइजो दिएको देख्नुभएको छैन होला ।
नेपाली इतिहासलाई पल्टयाएर हेर्ने हो भने दाइजो प्रथाले एक पटक सर्वोच्च शासन गर्यो जसले अनगिन्ती जीवनहरुमा प्रभाव पारेको थियो । दाइजो प्रथाको घट्दोक्रमलाई हेर्ने हो भने त सन् १९६३ मा तत्कालिन राजा महेन्द्रले अन्तय गर्नुभएको कुरा जगजायर नै छ । हाम्रो देशको संबिधानले पनि यो कुरालाई प्रतिबन्ध लगाएको छ ।
त्यसो त दाइजो प्रथा प्राचिनकाल देखि राजा–महाराजाको पालामा अझै व्यापक थियो भन्ने मेरो बुझाइ हो । सुनिन्छ, प्राचिनकालमा पनि राजकुमारीहरुको बिहेमा महाराजाहरुले हात्ति, घोडा र सुनचाँदिका गहनाहरु दिन्थे रे । ऐतिहासिक समयमा दाइजो प्रथाको प्रणालीले परिवारहरू बीचको गठबन्धनलाई जोड्ने, छोरीकोे भविष्य आर्थिक रुपमा सुरक्षित गर्ने र आफ्नी छोरीको लागि उनको दुलहाको क्षमताको बृदि गर्ने प्रतीकको रूपमा लिइन्थ्यो । पछि यो प्रणाली रुपान्त्रण हुँदै गयो र दुलही पक्षलाई विष साबित भयो ।
समय असहज रूपमा अगाडि बढ्दै जाँदा, सामाजिक मान्यताहरूको परिदृश्य पनि परिवर्तन हुँदै जान्छन् । महिलाहरु माथिको दमन र दाइजो प्रथा अहिले धेरै न्युन भएको छ । आज, दाइजोको प्रचलन कम भएको भएतापनि यसको सार भने अर्कै रुपमै पाइन्छ । मेरो विचारमा यो प्रथा घटेको छैन, अझै शक्तिशाली रुपमा रुपान्त्रण भएर नयाँ ढङ्कले देखापरेको छ ।
पहिले दुलहीको परिवारमा आर्थिक बोझ बनेको दाइजो प्रथा अब मौद्रिक आदानप्रदान र लीङ्गको दायरामा मात्र सिमित रहेन । यस समसमायीक प्रस्तुतिमा भूमिकाहरु उल्टो भएको जस्तो देखिन्छन, जहाँ कुनै बेला दुलहीको बिहे धन–सम्पती र मौद्रिक मूल्यका सामाग्रीहरु दिएर हुन्थ्योे भने, अब विवाह दुलहाकोे आर्थिक हैसियत नापेर, जोखेर र तौलेर मात्र हुने गर्दछ । यस तरिकाले दाइजो प्रथाको सार अझै बाँकि छ, यद्यपि अदृष्य रूपमा !
प्रसंग केही दिन अगाडीको मात्र हो, एउटा चिया पसलको अर्को टेबलमा गहिरो सम्वाद चलिरहेको थियो । एक मध्यम उमेरका व्यक्ति ठट्टा गर्दै भन्दै हुनुहुन्थो, “अब गरिब केटाहरुको बिहे हुन पनि गाह्रो छ । धनि केटिले धनि केटा नै खोज्ने, गरिब केटिले पनि धनि केटा नै खोज्ने !”
यतिकैमा अर्को एक जनाले थप्नु भयो, “सबै केटिहरुलाई एउटै दर्जामा राख्न त मिल्दैन । माया प्रेममा विश्वास गर्ने केटिहरु पनि छन, धनि केटि खोज्ने केटाहरु पनि छन । अनुपातको कुरा हो, थि कुराहरु युवतिमा बढि देखिन्छन् ।”
हाँसो र मजाकको रुपमा भइरहेका ति कुराहरु वास्तवमा गम्भिर विषय थिए । त्यहाँ वादविवाद प्रतियोगिता चलिरहेको जस्तो महसुुस हुन्थ्यो । यता हाम्रो टेबलमा भिन्दै कुराहरु चलेका थिए, म अर्को टेबलको अनौपचारिक जज भएर सुनिरहें । पक्कै पनि आर्थिक रुपमा सवल केटासँग बिहे गरेर आफ्नो भविष्य मा आमुल परिर्वतन ल्याउँछु भन्ने सोच आजका प्राय आम युवतिहरुमा देखिन्छ, जहाँ म सबल र सक्षम छु भनेर प्रमाणित गर्नको लागी एक पुरुषले आफ्नो शहरमा भएको घर, पि.आर. र ग्रिनकार्ड जस्ता प्रमाणहरु पेश गर्नुपर्छ भन्दा पनि फरक नपर्ला । यो आजकल नेपाली युवतिहरूको प्राथमिकताको विषय भएको छ, जुन हाम्रै घरपरिवार र छरछिमेकमा पनि देखिन्छन् ।
यस्तो खालको परिवेशले विवाह जस्तो पवित्र मिलनमा पनि भौतिकवादि दृष्टीकोण हावि भएको छ । यो अदृष्य रूपान्तरण, स्वयं–घोषित नारीवादीहरूको विचार र आदर्शसँग नमिल्न सक्छ, यद्यपि यो प्रचलित वास्तविकतालाई नकार्न भने सकिदैन ।
समसामयिक नेपाली समाजमा, धेरै युवा–युवतीहरूले आफ्नो जीवनसाथीको छनोटमा वास्तविक अनुकूलता, पारस्परिक समानता र सम्मानभन्दा बढि आर्थिक स्थायित्व र भौतिक सम्पतिलाई प्राथमिकता दिने चिन्ताजनक प्रवृत्ति बढ्दो रुपमा देखा परेको छ । यस्तो खालको घटनाहरु, दाइजो प्रथाको आधुनिक पुनरावृत्तिसँग मिल्दोजुल्दो छन् ।
यो प्राथमिकता व्यक्तिगत छनोटको कुरा मात्र रहेन, यसले सामाजिक अपेक्षामा नै गहिरो जरा गाडेको छ । नेपालमा जहाँ सामाजिक गतिशीलताको लागी अवसरहरु सीमित छन्, यहाँ विवाह अहिले आरामदायी जीवनशैली सुरक्षित र भविष्य समृद्ध गर्ने मार्गको रूपमा हेरिन्छ भन्दा पनि फरक पर्दैन ।
बढ्दो सहरीकरण र उपभोक्तावादी संस्कृतिको उदयसँगै, आकांक्षाहरू परिवार र समुदायका परम्परागत मूल्यहरूबाट भिन्न, भौतिक सफलताको खोजमा सरेका छन् । फलस्वरूप, सम्बन्धहरूलाई उपयोगिताको नजरबाट हेर्ने गरिन्छ ।
जिवनसाथिहरू उनीहरूको चरित्र वा अन्य अत्यावश्यक गुण हेरेर होइन, तिनीहरूको आर्थिक सम्भावनाहरू हेरेर रोजिन्छ । विवाह भावनात्मक अनुकूलताको सट्टा आर्थिक व्यवहार्यताको आधारमा बनाइन्छ, फलस्वरूप, सामाजिक विकृति निम्तिरहेको रहेको छ भने सम्बन्ध बढि टुट्ने गरेको देखिएको छ ।
हालैको अर्को घटना हो, मेरो एक घनिस्ट मित्रको जिवनमा यस्तै घटना घट्यो, नाम परिवर्तित सीता बाल्यकालदेखि नै प्रेम सम्बन्धमा थिइन, यद्यपि, जब सीताले एक अस्ट्रेलियाबासी अधबैसे युवक भेटिन, उनले आफ्नो प्रेमिलाई पछाडि छोड्ने हृदयविदारक निर्णय गरिन । वर्षौ देखिको प्रेमको बाबजुद, सीताले उनीहरूको सम्बन्धमा आर्थिक रुपमा सुरक्षित भविष्य रोजिन् । दुखतः अन्ततः, उनको विवाह भएको छोटो समयमै अनादरको कारण सम्बन्ध टुट्यो ।
यस्तो खालको प्रचलनले सामाजिक असमानतालाई बढाउँछ र थप समतामूलक र समावेशी समाज निर्माण गर्ने प्रयासलाई पनि कमजोर बनाउँछ । मैले केहि दिन अगाडि इन्टरनेटमा अध्यन गरेको थिए, केहि तथ्यहरु चिन्ताजनक छन्, जस्तै “डिभोर्स नेपाल”ले सन् २०१८ र सन् २०१९ मा काठमाडौं जिल्ला अदालतमा १०० सम्बन्ध विच्छेदका मुद्दाहरू जाँचेका थिए । यी मुद्दाहरूमध्ये ६४% वैदेशिक रोजगारीका लागि विदेश गएका दम्पतीहरू संलग्न थिए । उनीहरूले सम्बन्ध विच्छेदको लागि किन दायर गरेको भनेर सोध्दा धेरै उत्तरदाताहरूले एकलपन अथवा एकरसतालाई महत्वपूर्ण कारकको रूपमा उद्धृत गरेका थिए । यस अर्थमा हेर्ने हो भने सम्झौतामा चलेका सम्बन्धहरुमा एकरसता आउनु ठुलो कुरा पनि रहेन, जसले सम्बन्ध विच्छेदका घटनाहरु अझै बढाउन सक्ने देखिन्छ ।
मौद्रिक सुरक्षाप्रतिको यो झुकावले अर्थपूर्ण साझेदारी निर्माणमा लचिलोपन र साझा संघर्षको गुणलाई बेवास्ता गर्दछ । यस्तो मानसिकताले सामाजिक असमानतालाई स्थायी बनाउँछ, विवाहको सारलाई कमजोर बनाउँछ । साथै सामाजिक मूल्यमान्यता नष्ट गर्दछ, जसले समग्र समुदायको कल्याण र एकतामा महत्वपूर्ण चुनौतीहरू खडा गर्दछ । आजको दिनमा विवाहको साँचो अर्थ र पारस्परिक सम्मानमा आधारित सम्बन्ध निर्माणको महत्वको बारेमा सचेतना र शिक्षाको आवश्यकता छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा