सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ असोज । नेकपा (एमाले) वागमती प्रदेश कमिटीको प्रथम अधिवेशन कैलाश ढुङ्गेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।
नयाँ नेतृत्वका लागि हिजो (२०८० असोज १२ गते) भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ढुङ्गेल ६९६ मत प्राप्त गरी विजयी हुनुभएको हो । राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार, अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभएको छ ।
नवनिर्वाचित अध्यक्ष ढुङ्गेल रामेछाप र नेता दाहाल मकवानपुर निवासी हुनुहुन्छ । अध्यक्षका दुबै उम्मेदवार पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामा विजयी हुनुभएको छ । लामाले ६१५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, सचिवमा ललितपुरका नवराज सिलवाल ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सिलवाल एक मतको अन्तरले विजयी हुनुभएको हो । सचिवका अर्का उम्मेदवार सिन्धुपाल्चोकका हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो ।
यस्तै दुई उपसचिवमा प्रेमकुमार महर्जन ५९९ र भक्तकुमारी लामा ५३६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
२४० सदस्यीय बाग्मती प्रदेश कमिटीका सदस्यहरू भने सर्वसम्मत र निर्वाचन दुबै प्रक्रियाबाट निर्वाचित हुनुभएको छ । अधिवेशनले सात सदस्यीय लेखा आयोग पनि निर्वाचित गरेको छ । निर्वाचनमा विद्युतीय मेशीन प्रयोग गरिएको थियो । अधिवेशनमा एकहजार १७२ प्रतिनिधि सहभागी भएकामा निर्वाचनमा एकहजार १३५ मत खसेको थियो ।
नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीको अधिवेशन यही असोज ८ गते काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी र निर्वाचन तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्पन्न भएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा