सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि जारी मतदानमा मतदाताको उपस्थिति कम देखिएको छ ।
कैलाली क्षेत्र नं. १ अन्तगत टीकापुर नगरपालिकाका अधिकांश मतदानस्थलमा स्थानीय तहको निर्वाचन भन्दा पनि निकै कम मतदाता मतदानका लागि आएको विभिन्न उम्मेदवारका प्रतिनिधिले बताएका छन् ।
टीकापुर नगरपालिका १ को विरेन्द्र विद्या मन्दिर माध्यामिक विद्यालयमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि रहेका प्रकाश खड्काले अहिले मतदाताहरु राजनीतिदेखि निराश भएको कारण पनि खासै उपस्थिति नदेखिएको हुनसक्ने बताए । व्यवस्था बदलेर अवस्था बदल्न नसकेका कारण जनता निराश भएका कारण मतदातामा खासै उत्साह नदेखिएको उनको तर्क छ । “व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने मानसिकताले पनि मतदातामा उत्साह देखिएको छैन”, उनले भने, “विगतका निर्वाचनभन्दा अहिले निकै कम मतदाताहरु मतदान गर्न आएको देखिएको छ ।”
त्यस्तै सोही मतदानस्थलमा रहेका नेकपा (एकीकृत समाजवादी) का चक्र चन्द सोडारीको तर्क पनि त्यस्तै छ । उनले जनताहरु अहिलेका राजनीतिक दलसँग दिक्क भएका कारण मतदानस्थलमा खासै उपस्थिति नदेखिएको बताए । सोडारीका अनुसार विगतका निर्वाचनमा ६० देखि ७० प्रतिशत मत खस्ने गरेकोमा अहिले ५० प्रतिशत मत पनि खस्छ कि खस्दैन भन्ने द्विविधा छ । “अहिलेका राजनीतिक दलदेखि जनता दिक्क भइसकेका छन् । यिनीहरूले यत्रो वर्षसम्म खासै केही गर्न नसकेको जनताको बुझाई छ”, उनले भने, “विगतका निर्वाचनमा ६०-७० प्रतिशत मत खस्थ्यो तर अहिले ५० प्रतिशत पनि खस्छ कि खस्दैन भन्न सकिन्न ।”
सोहि नगरपालिकाको वडा नं. २ स्थित जनजागृती मावीमा रहेको मतदानस्थलमा पनि मतदाताको उपस्थिति निराशाजनक देखिएको हो । ग्रामीण क्षेत्रका मतदानस्थलमा पनि मतदाताको उपस्थिति खासै उत्साहजनक नरहेको स्थानीयले जानकारी दिएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा