सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोस्रो कार्यकालका लागि राष्ट्रपतीय निर्वाचनमा उठ्न पाउने व्यवस्थासहितको विधेयकको विरोधमा जारी हिंसात्मक प्रदर्शनमाझ पाराग्वेको संसद् भवनमा आगजनी गरिएको छ।
प्रमुख प्रतिपक्षी दलका नेताले प्रदर्शनका क्रममा एकजना युवकको गोली हानी हत्या भएको बताएका छन्।
३५ वर्ष लामो तानाशाही व्यवस्थापछि सन् १९९२ मा जारी पाराग्वेको संविधानले पाँचवर्षे कार्यकाल भएको राष्ट्रपति पदमा एकपटक मात्र उठ्न पाउने व्यवस्था गरेको छ।
तर वर्तमान राष्ट्रपति ओरासियो कार्टेसले उक्त प्रतिबन्ध हटाएर दोस्रो कार्यकालका लागि पनि उठ्ने प्रयास गरिरहेका छन्।
प्रदर्शनकारीले शुक्रबार राति राजधानी आसूनसियोनस्थित संसद् भवनका झ्यालहरु तोडफोड र भित्रका सामानहरुमा आगजनी गर्दै गरेको तस्वीरहरुमा देखिन्छ।
समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीले प्रस्तावित विधेयकलाई समर्थन गरेकाहरुको कार्यालयका सामानहरु ‘लुटपाट’ गरेका छन्।
प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले घोडचढी इकाई, रबरका गोली र पानीका फोहोरा प्रयोग गरेको थियो।
पाराग्वेको विपक्षी दलका प्रमुख इफ्राइन एलेग्रीले प्रदर्शनका क्रममा एकजना युवा मारिएको बताए।
प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन।
आसूनसियोनस्थित एकजना पत्रकारले संसद् भवनमा ‘एकदेखि दुई घण्टाभन्दा बढी समयसम्म’ आगो लागेको बीबीसीलाई बताए।
‘सडकमा प्रहरी र प्रदर्शनकारीबीच थुप्रै झडपहरु भएको’ भन्दै उनले सन् १९९२ मा पाराग्वेमा प्रजातन्त्र आएयताकै सबैभन्दा नराम्रो हिंसा भएको बताए।
सामाजिक सञ्जाल ट्वीटरमा एउटा वक्तव्यमार्फत राष्ट्रपति कार्टेसले संयम अपनाउन अपील गरेका छन्।
उनले भनेका छन्, “प्रजातन्त्रलाई हिंसाको बलले हासिल वा रक्षा गर्न सकिंदैन र तपाईंहरु ढुक्क हुनस् यो सरकारले शान्ति सुव्यवस्था कायम राख्न हरसम्भव प्रयास गर्नेछ।”
महान्यायाधिवक्ताको कार्यालयले घटनाहरुलाई नजिकबाट नियालेको र हिंसाबारे छानबिन गरिरहेको जनाएको छ।
यसअघि २५ जना सिनेटरहरुको एउटा बैठकले संविधान संशोधन गर्ने विधेयक पारित गरेपछि एउटा भीड सडकमा उत्रिएको थियो।
सो विधेयकलाई अर्को सदनले पारित गर्नुपर्नेहुन्छ जहाँ राष्ट्रपति पार्टीको बहुमत छ।
विपक्षीहरुले पछिल्लो कदमले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर तुल्याउने बताएका छन्।
विपक्षी सिनेटर डेसिरे मासीले भने, “सत्तापलट गर्ने प्रयास गरिएको छ। हामीले प्रतिरोध गर्ने छ र हामीसँगै प्रतिरोध गर्न मानिसहरुलाई आग्रह गर्दछौँ।” विविसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा