सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोभिड १९ महामारीका कारण बन्द रहेका काठमाडौं उपत्यकाका शैक्षिक संस्था खोल्ने तयारी भएको छ । लामो बन्दले शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौंका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन सुरु गर्ने तयारीमा जुटेका छन् । कुनै कुनै स्थानीय तहमा विद्यालय सुरु भइसकेको छ ।
स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने जमर्काेमा छन् । शंकरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । ‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन सुरु गर्नू भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ,’ प्रमुख श्रेष्ठले भने । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ ।
तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकैपटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए ।
कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुई–चार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए । ‘जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौं,’ प्रमुख महर्जनले भने ।
कागेश्वरी मनोहरा नगरपालिकाले मंसिर २१ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर मंसिर २१ गतेबाट विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । संक्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।
टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए । ‘हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ,’ प्रमुख अधिकारीले भने । नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ । संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरी नसकेको नगरप्रवक्ता थुमराज केसीले बताए ।
गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय खोलेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले बताए । बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ । जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा