सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोभिड १९ महामारीबीच पनि विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रले उत्साहजनक प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ । चालु वर्ष २०२० को तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले बढेको चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ ।
उक्त प्रारम्भिक अनुमानले चीनको कुल गार्हस्थ उत्पादन यस वर्षको सेप्टेम्बरसम्ममा ११ हजार अर्ब अमेरिकी डलर (११ ट्रिलियन डलर) हाराहारी पुगेको बताइएको छ । योसँगै पहिलो नौ महिनाको कुल गार्हस्थ उत्पादन वृद्धिदर ०.७ प्रतिशत भएको छ ।
चिनियाँ अर्थतन्त्रले पुनरुत्थानको पहिलो संकेत अघिल्लो त्रैमासमै देखाएको थियो । त्यसबेला अर्थतन्त्र मन्दीमा जानबाट रोकिएर कुल गार्हस्थ उत्पादन वृद्धिदर ३.२ प्रतिशत भएको थियो । चालु वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो ।
गत सेप्टेम्बरमा उपभोक्ता गतिविधिले गति लिएपछि सकारात्मक नतिजा आएको हो । उक्त महिना अघिल्लो वर्षको तुलनामा खुद्रा व्यापार ३.३ प्रतिशतले बढेको थियो । प्रमुख क्षेत्रले पहिलोपटक सकारात्मक त्रैमासिक प्रगति अनुभव गर्दा पनि समग्र उपभोग्य वस्तुको कुल खुद्रा बिक्री वार्षिक ७.२ प्रतिशतका दरले घटेको छ । बेरोजगारी दर सेप्टेम्बरमा ५.४ प्रतिशतमा ओर्लेको थियो, जुन अघिल्लो महिनाभन्दा २ प्रतिशत बिन्दुले कम हो ।
ब्युरोको ताजा तथ्यांकले यसपालि सेप्टेम्बरमा औद्योगिक उत्पादन पोहोरको तुलनामा ६.९ प्रतिशतले बढेको देखाउँछ । अगस्टमा औद्योगिक उत्पादनको वृद्धिदर ६.९ प्रतिशत थियो ।
स्वास्थ्य सम्बन्धी उपकरण (मेडिकल उपकरण) को विश्वव्यापी मागमा आएको तेजीले तेस्रो त्रैमासमा चीनको निकासी सशक्त रुपले बढ्दा कुल गार्हस्थ उत्पादन वृद्धिमा सकारात्मक योगदान पुगेको छ ।
‘समग्रमा भन्नुपर्दा समग्र राष्ट्रिय अर्थतन्त्र निरन्तर बौरिरहेको छ र यसले प्रकोप रोकथाम र विकाससँग समन्वय गर्दै महत्त्वपूर्ण नतिजा दिइरहेको छ,’ ब्युरोको विज्ञप्तिमा भनिएको छ । स्थिरता र अनिश्चयले गर्दा अन्तर्राष्ट्रिय वातावरण जटिल रहेको तथा महामारीको संक्रमणलाई उल्टाउनुपर्ने ठूलो दबाबमा भए पनि पुनरुत्थानको प्रक्रिया सकारात्मक दिशामै अघि बढेको ब्युरोले जनाएको छ ।
विश्वका प्रमुख अर्थतन्त्रले सन् १९३० को महामन्दीयताकै सबैभन्दा कठिन अवस्थाको सामना गरे पनि चिनियाँ अर्थतन्त्र भने प्रतिकूलताबीच मन्दीबाट जोगिने लक्षण देखिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनमात्रै यो वर्ष सकारात्मक प्रगति हासिल गर्ने एक्लो अर्थतन्त्र हुने भविष्यवाणी गरेको थियो । विश्वभरको कुल गार्हस्थ उत्पादन ४.४ प्रतिशतले खुम्चिए पनि चिनियाँ अर्थतन्त्रको आकार भने १.९ प्रतिशतले बढ्ने उसको प्रक्षेपण छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा