सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेसका प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोडको आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाहीको माग गरेका छन् । थापाले प्रदेश ५ को संसदभित्र प्रतिपक्ष नेपाली कांग्रेसबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको ठहर गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका थापाले सामाजिक सञ्जाल मार्फत संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका हुदाँ पनि कुर्सि तोडफोडको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय रहेको बताए ।
थापाले प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउने र आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै रहेको बताएका छन् । थापाले प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेको पनि स्विकार गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन् :
‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।
प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।’
प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए। कांग्रेस सांसदको यस्तो हर्कतको चौतर्फी आलोचना भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा