सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका रामेछाप र सोलुको लिखुपिके गाउँपालिकाको अन्तर स्थानीय समन्वय बैठक सम्पन्न भएको छ ।
उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा दुई पालिका बिचको बैठक सम्पन्न भएको हो । बैठकले उमाकुण्ड गाउँपालिका र लिखुपिके गाउँपालिकाको धेरै स्थानमा टेलिफोन र मोबाइलको फोरजी सेवा विस्तार नहुँदा सञ्चार सम्पर्कमा कठिनाइ भएकोले उमाकुण्ड–१ को थाल्चेमा टावर टावर निर्माणको लागि नेपाल टेलिकमलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
उमाकुण्ड १ र २ को सिमानामा पर्ने ठाडो खोलाबाट लिखुपिकेको विभिन्न स्थानमा सिँचाइका लागि पानी प्रयोग गर्न प्रयोजनका लागि सम्बन्धित वडासँग समन्वय गरी ती वडामा असर नपर्ने गरी कार्य अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
उमाकुण्ड गाउँपालिका र लिखु पिके गाउँपालिका हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकले पछिल्लो समय सो बाटो प्रयोग गर्न छोड्नुको कारण बारे बैठकमा छलफल भएको छ । सो क्षेत्र प्रवेश गर्ने बाह्य पर्यटकसँग गौरीशङ्कर संरक्षण क्षेत्रले जनही ३ हजार रुपैयाँ शुल्क लिनु यसको प्रमुख कारण भएको बैठकको निष्कर्ष छ । गौरीशङ्कर संरक्षण क्षेत्रले लिँदै आएको सो रकम घटाउन वा निःशुल्क प्रवेश दिने सम्बन्धमा गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनासँग छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
उमाकुण्ड र लिखुपिकेको सिमानामा पर्ने लिखु नदी र अन्य सहायक नदीमा सञ्चालित जलविद्युत आयोजनासँग सम्झौता अनुसार काम गर्न पटक पटक छलफल र बैठक गर्दा पनि अटेर गरेकाले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् नियमन आयोग र विद्युत् विकास विभागसँग दुवै गाउँपालिकाको तर्फबाट ध्यानाकर्षण र छलफल गर्ने कार्य अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा भएको बैठकमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, उमाकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ, लिखुपिके गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद पराजुली दुवै गाउँपालिकाका वडाध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा