सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयर सुनिता डङ्गोललाई वर्ल्ड इकोनोमिक फोरमले २०२५ को “Young Global Leaders” (युवा विश्व नेताहरू) को सूचीमा समावेश गरेको छ। विभिन्न पृष्ठभूमिका उल्लेखनीय युवा व्यक्तित्वहरूलाई समेट्ने यो सूचिमा स्थान पाउनु नेपाली युवा नेतृत्वको लागि गर्वको विषय बनेको छ।
वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको विवरणमा डङ्गोलको राजनीतिमा सक्रियता, सांस्कृतिक पहिचानको प्रवर्द्धन, महिला सशक्तिकरण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वलाई प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ।
सुनिता डङ्गोलले २९ वर्षको उमेरमा काठमाडौं उपमेयर निर्वाचित भइन्, जहाँ उनले नेपालका ७५३ पालिकामध्ये सबैभन्दा धेरै मतान्तरले जित हासिल गरिन्। उनले ६८ हजार ६१२ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए। नेकपा एमालेबाट उम्मेदवारी दिएकी डङ्गोल युवा पुस्ताकै प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएकी हुन्।
राजनीतिक भूमिकाबाहेक डङ्गोल सांस्कृतिक पहिचान र लिपिहरूको संरक्षणमा पनि विशेष सक्रिय छिन्। उनले रैथाने लिपिहरूको जगेर्नाका लागि ‘क्यालिजात्रा’ अभियान सञ्चालन गरेकी हुन्। साथै, उनले मिस नेवा उपाधि जित्दै सांस्कृतिक कार्यक्रमहरूमार्फत नयाँ पुस्तालाई जगेर्नामा प्रेरित गर्ने काम गरिरहेकी छन्।
उनले पछिल्लो समयमा अक्सफोर्ड विश्वविद्यालय, World Tourism Cities Federation Summit लगायतका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्तव्य दिँदै नेपाललाई विश्वसामु चिनाउँदै आएकी छन्। उनले ‘Women of the World Festival 2024’ काठमाडौंमा आयोजना गरी नेपाली महिलाको सिर्जनात्मकता र क्षमताको प्रदर्शन गर्ने मञ्च प्रदान गरेकी थिइन्।
सुनिता बारेमा फोरमले गरेको व्याख्याको भावानुवाद :
‘सुनिता डङ्गोल सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय छिन्। उनले रैथाने लिपिहरूको संरक्षणका लागि युवा नेतृत्वमा ‘क्यालिजात्रा’ भन्ने अभियानको स्थापना गरेकी छन् ।
मिस नेवा उपाधि जितेकी सुनिता काठमाडौं महानगरपालिकाको नगर योजना आयोगको सबैभन्दा कान्छी सदस्य बनिन् ।
उनी २९ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको उपमेयरमा ७५३ पालिकाहरूमध्ये सबैभन्दा बढी मतान्तरले विजयी भइन् ।
नेकपा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सुनिता डङ्गोल ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी तत्कालीन ५ दलीय गठबन्धन बाट नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए ।
पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन समिटजस्ता प्रतिष्ठित कार्यक्रमहरूमा मन्तव्य दिएकी छन् । उनले काठमाडौंमा ‘वुमेन अफ वर्ल्ड फेस्टिभल २०२४’ पनि सफलतापूर्वक आयोजना गरिन् ।
सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र शहरी नवप्रवर्तनमा समर्पित, सुनिता एक ऊर्जावान नेतृ हुन् । समावेशी शासनप्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायहरूको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त छिन् ।
कलाप्रेमी सुनिता काठमाडौंको समृद्ध परम्पराको संरक्षण तथा पुनर्जीवनमा रुचि राख्छिन् र सगै दिगो शहरी विकासलाई पनि प्राथमिकता दिन्छिन् ।
युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व र सांस्कृतिक दूतको रूपमा उनी नयाँ युगकी राजनीतिज्ञ हुन् जो परम्परा र आधुनिकताको पुल बनेर सन्तुलित भविष्य निर्माणको दिशामा क्रियाशील छिन् ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा