सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज जेल चलान हुने भएका छन्। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि प्रहरीले शुक्रबार राति उनलाई पक्राउ गरेको हो।
उक्त प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको थियो। तर सरकारी वकिल कार्यालय रूपन्देहीले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो। अदालतले शुक्रबार सुनुवाइ गर्दै जिल्ला अदालतको धरौटी आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
शुक्रबार राति उच्च अदालतको आदेश आएलगत्तै प्रहरी टोलीले रवि लामिछानेलाई काठमाडौंबाट पक्राउ गर्यो। शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उनलाई भैरहवा लगिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। शनिबार र आइतबार अदालत बिदा भएकाले उनलाई सोमबार अर्थात् आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले जानकारी दिए।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम सहकारीको ठगी प्रकरणमा ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएको छ। उक्त मुद्दामा १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ।
रवि लामिछानेलाई गोर्खा मिडिया नामक संस्थामा कार्यरत रहँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लगाइएको छ। उनी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक थिए।
माघ १३ गते जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर फागुन २२ गते सरकारी वकिल कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो। फागुन २६ गते रवि लामिछाने पनि उक्त धरौटी आदेश खारेज हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले अन्नपूर्ण पोस्टसँग कुरा गर्दै भने, “तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसैले हामीले सो आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका थियौं। अहिले अदालतले हाम्रो मागअनुसार प्रतिवादीलाई थुनामा राख्ने आदेश दिएको छ।”
यो घटनाले नेपाली राजनीतिमा ठूलै तरंग ल्याएको छ। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका लोकप्रिय नेता मानिन्छन्। सत्तामा संलग्न प्रमुख नेतामध्ये एक भएका उनीमाथिको ठगी मुद्दा र जेल पठाउने आदेशले पार्टीभित्र र बाहिर दुबै ठाउँमा प्रभाव पार्ने निश्चित देखिन्छ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा