सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्वमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध समर्थकहरुले देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् ।
२०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो । तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरु सडकमा आएका हुन् ।
आइतबार माइतीघरमा कुलमानका समर्थकहरुले विरोध प्रर्दशन गर्दै, आउने ०८४ को चुनावमा घिसिङलाई प्रधानमन्त्री बनाएर देखाउने भन्दै सरकारलाई चुनौती दिएका छन् ।
प्रदर्शनमा सहभागी मष्ट धर्म संरक्षक समितिका अध्यक्ष थर्क बहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताए । कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए ।
उनले भने,‘ कुलमान घिसिङलाई बर्खास्त गरेको सरकार अब आफंै बर्खास्त हुन्छ । आगामी ८४मा प्रधानमन्त्री कुलमानलाई नै बनाउनपर्छ भन्ने हाम्रो उद्देश्य छ । यही उद्देश्यलाई बोकेर हामी हिडेको छौं । कुशल कर्मचारीले घुस खाएन भनेर हटाएको छ । यो अन्यायपूर्ण छ । आन्दोलन अझ चर्किएर जानेछ । सरकारको यस्तो रवैया सहदैनौं । सरकारले हाम्रो आवाज सुन्नुपर्छ । चार महिनाको लागि उनको पुनबहाली हुनुपर्छ ।’
त्यस्तै अर्का सहभागी गणेश योन्जन तामाङले कुलमान जस्तो कुशल व्यक्ति देशको नेतृत्वमा आउनुपर्ने धारणा राखे ।
कुलमानले दिएको योगदानको कदर गर्दै यदी उनी तयार भए ०८४ को निर्वाचनमा समर्थन गर्ने बताए ।
उनले भने,‘कुलमान घिसिङलाई अमानवीय रुपमा हटाइयो । तीनचार महिना पनि कुर्न नसक्ने सरकार माफिया र विचौलीयाहरुको प्रेसरमा छ । राज्य सञ्चालन गर्नेहरुले त्यही माफिया र विचौलीयाहरुको निर्देशनमा कुलमानलाई हटाएको हो । कार्यकारी निर्देशकको रुपमा पुन बहाली गर्न अब सम्भव छैन । तर त्यो अन्यायको विरुद्धमा लड्नुपर्छ । अदालतले पनि न्याय दिएन । कुलमानले दिएको योगदानको कदर गर्दै उहाँ तयार हुनुहुन्छ भने स्वतन्त्र ढंगले ०८४ को निर्वाचनमा उहाँ अगाडि आउनुभययो भने कुशल मान्छेले राज्य सञ्चालमा पनि देखाउनुपर्छ ।’
उनले वर्तमान सरकारको कार्यशैली एकदमै जनविरोधी किसिमको रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पार्ने स्थितिहरु देखिएको बताए ।
त्यस्तै ,सामाजिक अभियन्ता, राजाराम तन्डुकारले सरकारले आफूहरुको आवाज नजरअन्दाज गरेमा निरन्तर आन्दोलनमा रहेर सरकारले हटाएको कुलमानलाई ०८४ मा प्रधानमन्त्री बनाउने दाबी गरे ।
‘उहाँलाई जुन रुपमा हटाइयो, त्यो गलत थियो । नेपालमा राम्रो मान्छे टिक्दैँन्, चल्दैँन् भनेर एउटा भाष्य निर्माण गरिदैँछ ।
राम्रो काम गरेकालाई पुरस्कार दिनुपर्ने ठाँउमा उल्टो हटाउने काम भयो । त्यसैले सरकारलाई दबाब दिन आन्दोलनमा आएका हौं । आन्दोलन निरन्तर चल्नेछ । सरकारको कार्यशैली निरङ्कुश शैली हो । यो काङ्ग्रेस र एमालेको सरकार होइन निरङ्कुश सरकार हो । सरकारले गर्नपर्ने काम धेरै छ, केही गरेको छैन् । सरकारबाट सम्बोधन भएन भने निरन्तर आन्दोलनमा कायम रहन्छ । कुलमानलाई प्रधानमन्त्री बनाउने हो ।’
त्यस्तै अर्का अभियान्ता सोम शर्मालेको पनि धारणा उस्तै छ । सँधैभरी केपी ओलीको सत्ता तानाशाहीको लागि मात्र भएकाले अब कुलमानलाई सत्तामा लैजान तयार रहेको बताए ।
‘जबजब राम्रो काम गर्न खोज्ने मानिसहरु आउँछन् देशमा तब राज्य सत्ताले प्रतिसोधपूर्ण व्यवहार देखाइरहेको हुन्छ । राम्रो काम गर्नेलाई लखेटेर देशमा बस्ने को ? सँधैभरी केपी ओलीको सत्ता र तानाशाहीलाई मात्र स्वीकारेर बस्नुपर्ने ? यस्तो सम्भव छैन् । पटक पटक नागरिकको आन्दोलनलाई जिस्काइरहेका छन् । आँखा खोलेर हेर अब जनताहरु सडकमा उत्रिएका छन् । चुनौती दिनका लागि हामी माइतीघरमा आएका छौं,’उनले भने, ‘राम्रो काम गर्ने मान्छे सत्तामा जानुपर्छ ।’
देशमा कुलमान घिसिङ र बालेन शाह जस्ता जनताले विश्वास गरेका हरेक पात्र सबैलाई माथि पुर्याउनुपर्ने उनको धारणा छ ।
त्यस्तै सामाजिक अभियन्ता, हेमराज थापाले सिंहदरबार र बालुवाटारमा बसेर आफूहरुलाई उत्तरदायी बाध्य बनाइने बताउँछन् । सरकारले जनताको कुरा नसुनेमा प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट लखेट्ने र देशभरका मान्छेलाई बोलाएर अगाडि बढ्ने चेतावनी समेत उनले दिए ।
उनले थप्दै भने,‘कुलमानलाई प्राधिकरणमा ल्याउने कुरा अर्को भयो । तर सरकार जनताप्रति उत्तरदायी बन्नुपर्ने कुरा महत्वपूर्ण हो । सरकारले जनताको आवाजलाई नजरअन्दाज गरेको देखिन्छ । यसकारण सिंहदरबार र बालुवाटारमा बसेर हामीलाई रेटिरहेकाहरुलाई उत्तरदाही हुन बाध्य पार्न यहाँ आएका हौं । आवाजको सुनुवाइ भएन भने केपी ओलीलाई बालुवाटारबाट लखेट्ने हो । भोली देशभरका मान्छेलाई बोलाएर अगाडि बढ्छौ ।’
त्यस्तै प्रर्दशनमा सहभागी अमरदिप मोक्तान आगामी ०८४ को चुनावमा कुलमानलाई गैरकानुनी रुपमा हटाउनुको दुस्परिणाम वर्तमान सरकारले भोग्ने बताउँछन् ।
‘एउटा सामान्य भुइमान्छे राम्रो पदमा जाने हो भने देश बन्नेथियो । चार महिना बस्न दिएको भए के हुन्थ्यो । भ्रष्ट सरकारले रवैया देखायो । आगामी ०८४ को चुनावमा यो सरकारले यसको दुस्परिणाम भोग्ने छ ।’
कुलमान जस्तो मान्छे पदमा रहे देश विकास सहज हुनसक्ने प्रदर्शनमा सहभागी बब्लु गुप्ताको विश्वास छ । सरकारले आफूले गरेका काम सबै ठिक भन्ने गलत मान्यताको साथ अगाडि बढेको उनको भनाई ।
उनले भने,‘हन्ड्रेस ग्रुप भन्ने एउटा संस्था चलाउछु । अहिले देशले परिवर्तन खोजेको छ । कुलमान जस्तो मान्छे पदमा रहने हो देश विकास सहज हुन सक्छ । सरकारले आफूले गरेका काम सबै ठिक भन्ने मान्यताको साथ अगाडि बढेको छ । त्यो गलत हो ।’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा