सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । अंग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुलीगढीको सहायक रामेछापको चिसापानीगढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ ।
रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा छ ।
राज्यकातर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानीगढी ओझेलमा परेको छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोक नेतृत्वको अंग्रेज फौजलाई वि.स.१८२४ मा सिन्धुली गढीको लडाइँमा वीर गोर्खाली सेनाले परास्त गरेका थिए ।
सिन्धुली गढीको सेनालाई ब्याक फोर्स दिन रामेछापको हालको मन्थली नगरपालिका–६ स्थित तिल्केस्थान गढी, चिसापानी गढी र हालको रामेछापकै खाँडादेवी गाउँपालिका–५ को पकरबास गढीमा सेना राखिएको थियो । यदि सिन्धुली गढीबाट त्यहाँको सेनालाई जितेर अंग्रेज सेना अघि बढ्यो भने उनीहरूसँग लडाइँ गर्न तीनवटा गढीमा सेना तैनाथ गरिएको थियो ।
नेपाली सेनाको वीरतापूर्वक र चलाखीपूर्ण लडाइँको कारण किनलक नेतृत्वको सेना सिन्धुली गढीबाटै पराजित भएर जनकपुरतिर फर्किएको र बाँकी गढीका सेनाहरूले अंग्रेजविरुद्ध लड्नु नपरेको जानकारहरु बताउँछन् ।
सिन्धुली गढी, तिल्केस्थान गढी र पकरबास गढी जस्तै चिसापानी गढीमा पनि सेनाले लड्नको लागि आड र बङ्कर निर्माण अन्य हतियार सहितका तोप समेत राखेको इतिहासबारेका जानकारहरु बताउँछन् ।
सेनाको टुकडी गढीभन्दा अलिक तल पानी भएको ठाउँमा भतेर खन्थ्यो भने चारैतिर देखिने चिसापानी गढीबाट युद्ध लड्नको लागि तयारी अवस्थामा पहरेरदारी गर्ने र त्यही सेनाले भतेर खाने ठाउँको नामलाई पछि ‘भतेरे’भन्न लागिएको स्थानीय बुढापाका बताउँछन् ।
लामो समयसम्म संरक्षण नगरी अलपत्र छाडिएको चिसापानी गढीका धेरै संरचना नष्ट भएको स्थानीयबासी बताउँछन् । कतिपय सामानहरू चोरिए भने कतिपय हराएर नष्ट भएर गएको बताइन्छ ।
देश संघीयतामा गएपछि चिसापानीको भीमसेनस्थान सहित चिसापानी गढीको जीर्णोद्धार, मर्मत र संरक्षणको लागि डोरमणि पौडेल मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेले आर्थिक मामिला तथा योजना मन्त्री भएको बेला वाग्मती प्रदेश सरकारले केही बजेट पठाएको थियो ।
सोही बजेटबाट गढीमा जाने केही सिँढी बने, मन्दिर बनेको थियो । गढी भित्र अन्य केही संरचना पनि बनेको तर डोरमणि नेतृत्वको सरकार ढल्यो, कैलाश डुङ्गले आर्थिक मामिला तथा योजना मन्त्रीबाट हटे । त्यसपछि गढीमा आउने बजेट पनि कटौती भयो र निर्माण कार्य पनि अलपत्र परेको स्थानीयबासी बताउँछन् ।
गढीमा धेरै संरचना निर्माण गर्नुपर्ने भएकाले वडा कार्यालय र नगरपालिकाले काम गर्न आँट गर्न नसकेको र स्थानीय तह प्रदेश वा संघीय सरकारको सहयोगको प्रतीक्षामा रहेको स्थानीयबासी बताउँछन् ।
चिसापानी गढीको पनि सिन्धुली गढीको जस्तै महत्त्व भएकोले यसको संरक्षण आवश्यक रहेकोको स्थानीय पत्रकार कैलाश खत्री बताउँछन् ।
ऐतिहासिक गढीको संरक्षणको लागि कार्ययोजना नै बनाएर काम गर्नुपर्ने उनको धारणा छ । ‘यसको लागि मन्थली नगरपालिकाले वृहत् कार्ययोजना बनाएर प्रदेश र केन्द्र सरकारबाट सहयोग लिने गरी काम गर्नुपर्छ’, खत्रीले भने ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा