सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ चैत । रुसी सेनामा भर्ती भएका पाँच नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी भाषामै बोल्दै आफूहरूलाई उद्धार गरिदिन छिमेकी मुलुक भारतलाई अनुरोध गरेका हुन् ।
उनीहरूले आफूहरूलाई एजेन्टले हेल्परको काम दिने भनेर झुक्याएर रुसी सेनामा भर्ना गराएको र उद्धार गर्न नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावासले कुनै चासो नदिएको भन्दै भारत सरकारलाई उद्धार गरिदिन भनेका हुन् । आफूहरूसँगै रहेका तीन जना भारतीय नागरिकलाई भारत सरकारले उद्धार गरेपछि आफूहरू झन समस्यामा परेकाले भारत सरकारको साथ खोजेको उनीहरूले बताएका छन् ।
उनीहरूले आफूहरूसँगै ३० जना नेपाली रुस पुगेको भए पनि अहिले आफूहरू पाँच जना मात्रै बाँकी रहेको बताएका छन् । कोही साथीलाई कतै पठाएको र कोही गम्भीर घाइते भएको उनीहरूले बताएका छन् । उनीहरूले भनेका छन्, ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन । यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं । नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । भारत र भारतीय दूतावास शक्तिशाली छ ।’
रुसमा फसेका नेपालीले नेपाल सरकारसमक्ष गरेको गुनासो बेकार भएकाले उद्धार गर्न भारत सरकारसँग अपिल गर्नुपरेको उनीहरूले बताएका छन् । उनीहरूले आफूहरूलाई रुसी सेनामा सहयोगीको कामको बहानामा रुस पठाउने ट्राभल एजेन्टहरूले ठगेको समेत गुनासो गरेका छन् ।
‘यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामै भनेका छन्, ‘हमारे नेपालसे कुछ नहीं हो रहा है । हम चाहते हैं कि यहाँ मौजुद सभी नेपाली अपने वतन लौट चाहते हैं । नेपाल और भारतकेबीच अच्छे सम्बन्ध हैं । भारत और भारतीय दूतावास शक्तिशाली है । इसलिए हम आपसे मदत माँगना चाहते है ।’
उनीहरूले भारत सरकारले भारतीयलाई जस्तै आफूहरूलाई पनि उद्धार गर्नेमा ढुक्क रहेको बताएका छन् । हरेक दिनजसो रुसी सेनामा भर्ती भएका नेपालीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै रुस नआउन र आफूहरूलाई उद्धार गर्न अपिल गर्ने गरेका छन् ।
अहिलेसम्म रुसी सेनामा कार्यरत १३ नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै नेपाली घाइते तथा अंगभंग भएका छन् । सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ ।
यस्तै रुसी सेनामा भर्ती भएका ४ नेपाली युक्रेनमा बन्धक बनेका छन् । युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा