सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ पौष । राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्ना लागि १३ सिट दाबी गरेको छ र सबैलाई सिट बाँडफाँट गर्न नसकिने तर्क राखेको छ । कांग्रेस अहिलकै अवस्थामा चुनावमा जाँदा एक्लाएक्लै लड्दा १९ सिटमध्ये १७ सिट जित्ने निश्चित छ । त्यसैले, पनि कांग्रेसले आफूले धेरै सिट राख्न चाहेको हो ।
२१ फागुनबाट राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदै छ । जसमध्ये १९ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
कुन प्रदेशमा कसको मतभार कति ?
निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतभार परिवर्तन गरिएको छ ।
आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ भने स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेकोमा १९ पुगेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५ सय ५० प्रदेश सांसद र ७ सय ५३ स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभारअनुसार प्रदेश सांसद कुल मतभार २९ हजार १ सय ५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १४ हजार ३ सय ७ रहेको छ ।
कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कुल ३ सय ६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ । कांग्रेसको कुल मतभार ३ हजार ७ सय २२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।
यस्तै, एकीकृत समाजवादीको ३ सय ४५, जनता समाजवादीको १ सय २९, राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन रहेकाले मतभार ५ हजार ४ सय ७४ छ । यस्तै, मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसदको ५ हजार ६ सय ७१ मत र स्थानीय तहका २ सय ७२ जनप्रतिनिधिको ५ हजार १ सय ६८ गरी १० हजार ८ सय ३९ मत रहेको छ ।
मधेस प्रदेशमा एमालेको कुल २ हजार ३ सय २ मतभार, कांग्रेसको ३ हजार १ सय ४, जनता समाजवादी पार्टीको १ हजार ८ सय १७, जनतम पार्टीको ७ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ३३, माओवादीको ७ सय ६६, नेकपा एसको ५ सय ८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३ सय ७५ मतभार रहेको छ । मधेसमा गठबन्धनसँग ७ हजार ९ सय ९९ मत देखिन्छ ।
यस्तै, बाग्मती प्रदेशमा कुल प्रदेश सांसद १ सय १० को ५ हजार ८ सय ३० मतभार, स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिको ४ हजार ५ सय २२ मतभार गरी कुल १० हजार ३ सय ५२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको कुल मतभार ४ हजार १३, एमालको २ हजार ५ सय ७१, माओवादीको २ हजार १ सय ९६ मतभार रहेको छ । यस्तै, नेकपा एसको ५ सय ४२, राप्रपाको ७ सय ८, हाम्रो नेपाली पार्टीको १ सय ६, नेमकिपाको १ सय ९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । गठबन्धन सम्बद्ध दलसँग ६ हजार ७ सय ५१ मत देखिन्छ ।
यता गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० जनाको मतभार ३ हजार १ सय ८० र स्थानीय तहका १ हजार ७ सय ९ जनप्रतिनिधिको मतभार ३ हजार २ सय ३० गरी कुल ६ हजार ४ सय १० रहेको छ । गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय ४, एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ४१ मतभार रहेको छ । यस्तै, राप्रपाको १ सय ६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।
गण्डकीमा गठबन्धनसँग ३ हजार ७ सय ७४ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्यको ४ हजार ६ सय ११ मतभार र स्थानीय तहका २ सय १८ जनप्रतिनिधिको ४ हजार १ सय ४२ मतभार गरी कुल ८ हजार ७ सय ५३ मतभार रहेको छ ।
यो प्रदेशमा एमालेको २ हजार ८ सय १०, कांग्रेसको ३ हजार १ सय ७९, माओवादीको १ हजार २ सय ३७ मतभार रहेको छ । यस्तै, राप्रपाको २ सय ६९, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, जसपाको २ सय ७३, लोसपाको २ सय ३५, जनमत पार्टीको १ सय ५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १ सय २९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १ सय ५९ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनसँग ५ हजार ४ सय ७७ मतभार छ ।
कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १ सय २० मतभार रहेको छ भने १ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कुल ५ हजार १ सय २२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको १ हजार ८ सय ६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६ सय ५४, एमालेको १ हजार १ सय ४२, नेकपा एसको २ सय ४३, राप्रपाको ५३ र स्वतन्त्रको १ सय ६७ मतभार रहेको छ ।
यो प्रदेशमा कुल ५३ जना प्रदेशसभा सदस्यको २ हजार ८ सय ९ मतभार रहेको छ भने १ सय ७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३ सय ३४ मतभार गरी ६ हजार १ सय ५३ मतभार रहेको छ । जसमा सत्ता गठबन्धनको मत जोड्दा ३ हजार ७ सय ७ मत पुग्छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसको २ हजार ६ सय ४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४ सय ८० मतभार रहेको छ । यस्तै, नेकपा एसको ३ सय ७, नागरिक उन्मुक्ति पार्टीको ५ सय ४, राप्रपाको ५३ र स्वतन्त्रको १ सय १० मतभार रहेको छ । सुदूरपश्चिम प्रदेशमा गठबन्धनको मत ४ हजार ५ सय १० रहेको छ । यसले स्थानीय तह, चार प्रदेश र केन्द्रमा पहिलो रहेको कांग्रेस नेतृत्वको गठबन्धनको सबै प्रदेशमा पल्ला भारी देखिन्छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा