सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय, काठमाडौँ, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेको विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरी सकेको अवस्थामा सिनामंगलमा मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याइएको ६० किलो सुन (ब्रेक शुसहित १ क्विन्टलभन्दा बढी) राजस्व अनुसन्धान विभागले बरामद गरेपछि यसमा सरकार पक्षका कसै न कसैको संलग्नता रहेको भन्दै एमालेले उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने मागसहित साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ । राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सुम्पिएको हो ।
देशमा आर्थिक मन्दी, प्राकृतिक प्रकोपको वितण्डा, जनताका अनेकन समस्याहरुमाथि बहस, छलफल गर्नुपर्ने, विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने ठाउँलाई नै निरन्तर अवरोध गर्नु उपयुक्त नभएको धेरैको भनाई छ ।
तर पनि एमालेले आफ्नो हठ नछोड्दा संसद् अवरोध खोल्न राष्ट्रपति नै सक्रिय हुन थालेका छन् । बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले यी विविध विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद् अवरोध खोल्न आग्रह गरेका थिए । सो क्रममा अध्यक्ष ओलीले एमालेले नभई सत्तापक्षले नै संसद् अवरोध गरेको जवाफ दिएको आफैले सञ्चारमाध्यममा बताएका थिए । सत्ता गठबन्धनका शिर्ष नेताहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग भेटेर राष्ट्रपतिले अवरोध हटाउने विषयमा छलफल गरेका समाचार सञ्चारमाध्यममा प्रकाशित भएकै छन् ।
सुन प्रकरणको छानबिन सीआइबीमार्फत नभई उच्चस्तरीय आयोग गठन गरेर गर्नुपर्ने मागसहित आक्रामक बनेको एमालेलाई संसद् अवरोध खोल्न कसरी मनाउने भन्ने सम्बन्धमा सत्ता गठबन्धनभित्र पनि बुधबार छलफल भएको थियो । सत्ता गठबन्धनले पनि एमालेको माग पूरा नगर्ने निर्णय गरिसक्दा अब कसरी संसद् अवरोध हट्छ भन्ने चासोको विषय बनेको छ ।
नेपाली काङ्ग्रेसभित्रै पनि एक पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा छ भने देउवा–गगन भने सरकारी निकायमाथि विश्वास गर्नुपर्ने भन्दै सीआईबीलाई नै छानबिन गर्न दिनुपर्नेमा छन् । केही दिनअघि मात्र सकिएको नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नरहेको निष्कर्ष निकालेपछि सत्ता गठबन्धनले पनि आयोग गठन नगर्ने निर्णय गरेको थियो ।
यहाँभन्दा अगाडी पनि ९ महिना लामो संसद् अवरोध गरेको एमालेले यहि एउटा विषयलाई हात्तीको देखाउने दाँत झैं गरेर चपाउने दाँत झैं कारणहरु अरु पनि छन् कि भन्ने आशंका पनि जनमानसमा देखिन थालेको छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसद् अवरोधको विरोध गर्दै आएको छ ।
संसद् खुल्ला गरेर त्यहीँबाट समाधान खोज्नुपर्ने रास्वपाको भनाई छ । लगातार अवरोध हुन थालेपछि रास्वपाले संसद् ‘हाइज्याक’ भएको भन्दै जनताका कुराहरु राख्ने थलोलाई सधैं बन्द गर्न नमिल्ने बताउदै आएको छ । जनताका समस्या, दुख संसद्मा राख्न पाउनुपर्ने र संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्न पाउनुपर्ने भन्दै संसद् हल बाहिरै रास्वपाले संसदीय अभ्यास गरेर व्यङ्ग्य गरेको थियो । अवरोध संसद्का कारण जनताले दुस्ख पाइरहेको र यसले कसैलाई फाइदा नहुने उसको तर्क छ । रास्वपाका संसदहरुले अबरुद्ध भएको दिनको तलब, भत्ता र सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन र संसद बैठक सुचारु गरिदिन अनुरोध पत्र समेत बुझाएको छ ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अर्को माग छ । उच्चस्तरीय छानबिन आयोग गठन गर्दा माओवादीकै धेरै नेताहरुको संलग्नता पुष्टि हुने भएकाले सरकारले त्यसो नगरी आफ्ना नेता बचाउन लागिपरेको एमाले अध्यक्ष ओलीले आरोप लगाउदै यस्तो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले पनि राजीनामा गर्नुपर्ने विभिन्न कार्यक्रममा बताउदै आएका छन् । यदि सरकारले आयोग गठन नगरे आफू पछि नहट्ने एमालेको दाबी छ । जसले लामो समयदेखि संसद् चल्न सकेको छैन ।
यसमा सरोकारवाला पक्षसमेत चिन्तित देखिन्छन् । लामो समयसम्म संसद अवरोध हुदा राम्रो नहुने र जनताका कुरा जनताले पठाएका प्रतिनिधिले संसदमा राख्न नपाउने उनीहरुको भनाइ रहेको छ ।
सभामुख देबराज घिमिरेले पटक–पटक संसद बैठक आह्वान गर्दे नियमित कार्यसुचिमा प्रवेश गर्न खोज्दा एमालेले रोष्टमै पुगेर नाराबाजी गर्दा सदन चल्न सकेको छैन । सभामुखले पनि पटक–पटक सदन खुलाउने बिषयमा मुख्य पार्टीका शिर्ष नेताहरु र सचेतहरु राखेर बैठक नबसेका होइनन् । तर, एमालेले सदनको बैठक खुलाउन सकारात्मक नहुँदा सभामुख पनि निरिह बनेका छन् ।
तसर्थ, सुन प्रकरणमा एमालेले निरन्तर संसद बैठक अवरोध गरेर प्रमुख प्रतिपक्षिको भुमिका भन्दा राजनितिक दुस्मनिको हुर्मत लिने काम गर्दा देश र जनताको समस्या राख्ने थलो नै बन्धक बनेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा