सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, जेठ १०। धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एक वर्षदेखि अन्धकारमय बनेको छ। ०७४ साउन १२ मा गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो। विद्युतको अभावमा विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताए। उनले भने, ‘विद्युत आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ।’
उनले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गरे। परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको २३ लाख रुपैयाँ बजेटले परियोजना पुनर्निर्माण सम्भव नभएपछि अलपत्र परेको उनले जानकारी दिए। ३२५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन्। परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन्।
स्थानीय बृद्ध टेकलाल रसाइलीले भने, ‘गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन।’ उनले बत्तीका साथै गाउँमा खानेपानीको समेत चरम संकट रहेको बताउँदै गाउँ नजिक रहेका मुहानलाई मर्मतसहित नयाँ पाइप विस्तार गर्न नसक्दा गाउँमा खानेपानीको पनि हाहाकार भएको बताए। उनले भने, ‘आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको छ, खानेपानी र बाल्ने बिजुलीलाई पहल गर्दा पनि सफल हुन सकेनौं।’ लुलाङमा रहेका सार्वजनिक धारामा बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ। सञ्चार सुविधाबाट समेत सहज नभएकाले गाउँलेले नजिकैको डाँडामा पुगेर मोबाइलबाट कुराकानी गर्ने गरेका छन्।
मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ। स्थानीयले सञ्चार, विद्युत, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन्। स्थानीय राम रसाइली भने, ‘देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ, अति आवश्यक सेवाबाटै वञ्चित छौं।’ उनले खानेपानीका लागि बालबालिकाले जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै जनश्रमदानबाट मात्रै सम्भव नभएको बताए। पहिरोले खानेपानीको मुहानमा समेत क्षति पुगेपछि लुलाङ र लम्सुङबाका बासिन्दाले दैनिक पानीको खोजीमा हिँड्नुपर्ने बाध्यता रहेको छ।
यता गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताइन्। उननले भनिन्, ‘लुलाङको समस्यालाई प्रदेश र केन्द्रीय सरकारसमक्ष पु¥याएका छौँ, विकट बस्तीमा प्राकृतिक प्रकोपले समेत सताइरहेको छ।’ लघुजलविद्युत, खानेपानी, शिक्षा र सञ्चारको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि माग गरिएको बताइन्।
जिल्लाकै अति विकट मानिने गुर्जा तथा छिमेकी जिल्ला बाग्लुङ जाने स्थानीयलाई लक्षित गरी गाउँमा होमस्टे सञ्चालन गरेपनि खानेपानी र विद्युतको अभावले समस्या भइरहेको छ। विद्युतबाट चल्ने विभिन्न किसिमका उपकरणमा आधारित साना उद्योगसमेत बन्द भएका छन्। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा