सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, बैशाख ३० । बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ । जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन् । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए ।
चैत अन्तिम र वैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाए पनि नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन नगर्ने सहमति गराएर छोडिएको थियो । क्लबका पदाधिकारीले नदीजन्य पदार्थको उत्खनन गरेकामा गल्ती स्वीकार गर्दै अब उत्खनन नगर्ने लिखित प्रतिबद्धता विपरीत केही दिनयता पुनः चोरी–निकासी गरिरहेका स्थानीयवासीले बताएका छन् । नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ ।
आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले पाँच लाखमा विनोद हमाललाई ठेक्कामा दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताए । नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको सिफारिशमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर खेलमैदान सम्याउने र संरक्षण गरिए पनि बिक्री नभएको थापाले दाबी गर्दै आएका छन् । दिउँसो नदीजन्य बस्तु उत्खनन र राति चोरी–निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
प्रजिअ लीलाधर अधिकारीले नगरपालिकाका प्रमुख श्रेष्ठको लिखित पत्राचारपछि पहिले उत्खनन गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलिङ गर्नका लागि मात्र नगर प्रमुख श्रेष्ठको सिफारिशमा अनुमति दिएको बताए । क्लबका पदाधिकारीले प्रतिबद्धता विपरीत काम गरेको सूचना पाएपछि शनिबार दिउँसो प्रहरी पठाएर उत्खनन रोक्न निर्देशन दिएको प्रजिअ अधिकारीले बताए । नगर प्रमुख श्रेष्ठले अलपत्र अवस्थामा छोड्डा बस्ती कटानको जोखिम भएकाले खाल्डाखुल्डी पुर्न र संरक्षणका लागि सहमति दिए पनि बिक्री वितरण गर्नु गलत काम भएको र त्यस्तो नगर्न निर्देशन दिने बताए ।
स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन । प्रहरीले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारीसाधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा