सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, वैशाख १८ । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले गएराति केरा बगान फँडानी गरेको छ । कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा बढी केराका बोट रातको समयमा फाँडिएको थियो । केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए । उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ ।
फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए । स्थानीय पीडित किसान गोपी लामिछानेले आफ्नो दुई कट्ठा १० धुरमा रहेका सबै ३०० बोट केरा फँडानी भएको बताए । उनका अनुसार सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ कट्ठा क्षेत्रफलमा लगाइएको केरा फाँडिएको छ । उनले भने, ‘यस क्षेत्रका १२ कृषकको केरा फाँडिएको देखिएको छ । अरुको के छ हेर्न बाँकी छ ।’
वर्षभरको मेहनत खेर गएको लामिछानेले चिन्ता व्यक्त गरे । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ । केही दिनअघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्रायः घरमा केरा खेती गरिँदै आएका छन्।
बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले घटना रिसइबीकै कारण भएको देखिएकाले अनुसन्धान तीव्र पारिएको बताए । उनले आफूले केरा फाँडिएको क्षेत्र हेरेको भन्दै जसरी पनि दोषी पत्ता लगाएरै छाड्ने बताए ।
जिल्लामा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । ६ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा