सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रत्ननगर, बैशाख १६। चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर) मा ल्याएर राखिएको छ । निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो) लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो । केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो । गैडामात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर नै पिट बोमा हो ।
निकुञ्जको टोलीले पोथी नियन्त्रणको प्रयास हुँदाहुँदै अन्दाजी दुई वर्षको भाले केटो नियन्त्रणमा लिएको थियो । केटोलाई बोमामा राख्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठक र चीनको चिमे लङ सफारीका सहप्रबन्धक याङ सहभागी । गैँडाको आनीबानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न याङ वैशाख ६ गतेदेखि नै चितवन निकुञ्जमा रहेका छन् । एक महिना जति पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्को ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिए । दुई जोडी गैँडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ ।
अर्को एउटा पनि पिट बोमा बनाउने तयारी छ । चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभियन पाठक दोस्रो बोमामा सारेपछि पनि केही समय राखिने र आगामी असारभित्र गैँडा चीन पठाउने तयारी भइरहेको बताए । यही वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो । गैँडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन् ।
सोका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैँडा चीन पठाइने छ । गैँडा नियन्त्रण टोली भने अर्को समाउन निकुञ्जमै रहेको छ । —नारायण ढुंगाना, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा