सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फलेवास (पर्वत), बैशाख ११ । सरोकारवालाले प्रदेश ४ को नाम गण्डकी, धौलागिरि वा मुक्तिक्षेत्र राख्न पर्वतका सुझाव दिएका छन्। सोमबार भएको एक कार्यक्रममा उनीहरूले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन्।
पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्तिक्षेत्रको नाम प्रस्ताव गरिएको छ। यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव छ।
प्रदेश ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेश नै सबैको साझा नाम हुने सुझाव दिएका छन्। त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ।
नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ।
त्यस्तै, प्रदेश ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ।
हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्तिक्षेत्रको नामबाट प्रदेशको नामकरण गर्नु उचित हुने नामसमेत आएको छ। भगवान् विष्णुको अवतार मानिने शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ।
त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन्। उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए।
सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी\गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन्। एमालेका जिल्ला उपाध्यक्ष भक्त कुँवर, कांग्रेसका सभापति खिमप्रसाद भुसाल, माओवादी केन्द्रका शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी\गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिएका छन्। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा