सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरेन्द्र कर्ण /वीरगन्ज, चैत २४ । भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा स्विच थिची उद्घाटन गरेपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसीपी) शनिबारदेखि विधिवतरुपमा सन्चालनमा आएको छ ।
नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसीपीको उद्घाटन गरेपछि अलौस्थित आइसीपीमा रहेको शिलालेखको वीरगन्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गरे ।
उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना६च६९३९ नम्बरको पेट्रोल ट्यांकरसहित ८० ओटा गाडी नेपाल प्रवेश गरेका छन् भने नेपालतर्फबाट एनएल०१एच ८३८५ नम्बरको मालबाहक ट्रकसहित तीनओटा गाडी भारत गएका छन् ।
भारत सरकारको रु दुई अर्बको लागतमा निर्माण गरिएको सो आइसीपी अलौ र सिर्सियाको ११५ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
नेपाल सरकारले वीरगन्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ विगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएपछि भारतले उपहारस्वरुप आइसीपी बनाइदिएको हो ।
भारतले निर्माण गरिदिएको उक्त आइसीपीमा ७३० वर्गमिटर क्षेत्रफलका पाँचओटा ठूला गोदाम, दुईओटा ठूला सेड, कार्यालय सन्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आइसीपीमा सवारी–साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहेका छन् ।
वीरगन्जको मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय आइसीपीमा स्थानान्तरण हुने भएकाले आयात–निर्यातकर्ताले कम समयमै सहजरुपमा वस्तु आयात–निर्यात गर्नसक्नेछन् भने सवारीको चापका कारण हुने ट्राफिक चाप हुने छैन र भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने तथा राजश्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको आंशिक तथा प्राविधिक सहयोगमा सो आइसीपी निर्माण गरिएको हो ।
नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार वीरगन्ज–रक्सौल मार्गबाट हुने भएकाले सो आइसीपीले नेपालको व्यापारमा नयाँ स्फूर्ति ल्याउने विश्वास गरिएको छ ।
एकीकृत जाँच चौकीले नेपाल–भारत व्यापार तथा सम्बन्धमा नयाँ आयाम थप्नुका साथै विराटनगर भैरहवा र नेपालगन्जमा निमार्णाधीन अवस्थामा रहेका आइसीपीहरुका लागि उदाहरण बन्ने विश्वास भारतीय पक्षले लिएको छ ।
यसअघि, नेपाल–भारत सीमामा रहेको मैत्रीपुलको बाटो गरी सामान आउन एक हप्ता लाग्ने गरेकामा अब आइसीपी सन्चालनमा आएपछि केही घन्टाभित्रै नेपाल आउनसक्ने भएकाले यसबाट नेपाल–भारतबीचको व्यापारमा नयाँ आयाम थपिने विश्वास उद्योगीहरुको रहेको छ ।
नेपालतर्फ अलौ तथा भारततर्फ पन्टोका गाउँलाई छुने गरी निर्माण भएको सो आइसीपीबारे आफ्नो धारणा राख्दै इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले लामो समयको सपना पूरा भएकाले यसबाट ३० प्रतिशत पारवहान खर्चमा कमी आउने विश्वास लिएका छन् ।
भारतबाट आउने मालबाहक ट्रकलगायत सवारी आइसीपीको बाटो गरी सोझै परवानीपुर निस्कने तथा परवानीपुरदेखि आइसीपी हुँदै भारततर्फ जानसक्ने व्यवस्था गरिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा