सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रकाश सिलवाल रासस/ काठमाडौं, माघ २७ । स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् ।
आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभइ पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा एमाले नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी भएका हुन् ।
प्रदेश नम्बर–३ को अस्थायी मुकाम हेटौंडामा शनिबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा त्यागी र स्वच्छ छविका श्रेष्ठ सभामुखमा निर्वाचित भएपछि प्रदेश सदस्यले बधाइ दिनेक्रम चल्यो ।
एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भएपनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताए ।
श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र–२ प्रदेशसभा ‘क’बाट निर्वाचित भएका थिए । सो प्रदेश क्षेत्रमा काठमाडौं महानगरपालिका–९ र ३२ पर्छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।
कुल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँगमात्रै बहुमत (५८ सदस्य) छ ।
श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इन्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुन् । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन ।
वि.सं. २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्छन् । उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
वि.सं. २०३४ मा भूमिगत नेकपा मालेबाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लागेका हुन् । उनी निरन्तर सोही आन्दोलनमा छन् ।
विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक–पटक जेलनेल भोगेका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजयजुलुसमा पञ्चायत पक्षधरको निर्मम कुटाइ र यातना खाएका थिए ।
काठमाडौं जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रतिस्पर्धी भए ।
त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण दाहालको विपक्षमा प्रचारमा नगइ पराजय स्वीकारे ।
आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत बाग्मती सभ्यताको विकास, ग्रीन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाएका थिए ।
यस्तै, बाग्मतीमा झोलुंगेपुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पुनः उठाएका थिए । अब ती काम सभामुखकारुपमा पूरा गर्न पहल गर्ने उनले प्रण गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा