सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, माघ २५। पाल्पा जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ ।
हिउँदमा पानी नपरेपछि यहाँका पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव यस वर्ष छिटो शुरु भइसकेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने खानेपानी मुहानमा अहिले पानी सुकिसकेपछि स्थानीय बासिन्दाले पानीका लागि घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता बढेको हो । आकाशे पानी संकलन गर्न बनाइएका सिमेन्टका घैँटामा पानी सकिएको छ । भुवनपोखरी गोखुङ्गाका दलित बस्तीमा घैँटामा पानी रित्तिएपछि दैनिक दुई गाग्री पानीको भरमा दिन गुजार्न बाध्यता बढेको स्थानीय बासिन्दा गोपाल परियारले बताउनुभयो ।
खानेपानीका लागि यहाँका ६० घर परिवारले प्रयोग गर्ने मुहानमा समेत पानी सुक्दा दोहोरो समस्या झेल्न बाध्य भएको परियारको भनाइ छ ।
एक घरमा छ हजारदेखि १० हजार लिटरसम्मका घैँटा छन् । यस वर्ष घैँटामा पानी नभँरिदै वर्षा रोकिएपछि यतिबेला पानीको संकट भएको हो । स्थानीय बासिन्दा लक्ष्मण परियारका अनुसार पिउने पानीको नै संकट शुरु भएको छ । पानीका लागि दिन र मध्यरातमै पँधेरामा पानी खोज्न जान बाध्य छन् ।
सांसद हरिप्रसाद नेपालको पहलमा लिफ्टिङ खानेपानी योजना सञ्चालन भए पनि पूरा हुन सकेको छैन । तीन चार घण्टा बिताएर हिउँदमा कमेरेगैरा र ओखरघारीमा पानी लिन जानुपर्ने बाध्यता छ । वडाध्यक्ष लालबहादुर दर्लामीले खानेपानीका योजना शुरु भए पनि सम्पन्न नभएकाले पिउने पानीको दुःख भएको बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा