सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ६ । विदेशी बैंकमा पैसा जम्मा गर्नका लागि प्रयोग गर्ने स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएको खबरपछि वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक संस्था स्विफ्टको विश्वसनियतामा प्रश्न उठेको छ । शुक्रबारदेखि केही नेपाली बैंकहरूमा यो समस्या देखिए पनि निक्षेपकर्ता तथा लगानीकर्तालाई भने कुनै असर नगर्ने केन्द्रीय बैंकले जनाएको छ ।
स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएको खबरपछि नेपाल राष्ट्र बैंकले आइतबार बैक खुल्नेवित्तिकै सम्बन्धित बैंकहरूको सुपरिपेक्षण सुरु गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । “बैकका सबै ग्राहकको सम्पूर्ण खाता सुरक्षित छ,” उनले भने ।
शनिबार बजारमा एक्कासी एनएमबी बैंकको स्विफ्ट नेटवर्कमार्फत विदेशी बैंकहरूमा रहेको अकाउन्ट ह्याक गरिएको हल्ला चले पनि सो हल्ला निराधार भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । “हल्ला चलेपछि शनिवार बेलुकी नै हाम्रो प्राविधिक टिमले चेक गरेको थियो, ह्याक भएको छैन,” उनले भने । तर, एनआइसी एसिया बैंकको विदेशी बैंकहरूमा रहेका एकाउन्ट स्विफ्टमार्फत ह्याक गरी रकम अन्य बैंकहरूमा ट्रान्सफर गरिएको भन्ने अनुमानका आधारमा बैकमा सुरपरिवेक्षण भइरहेको भन्दै पण्डितले कुन बैंकको कति रकम ह्याक गरी ट्रान्सफर भएको भन्ने आधिकारिक जानकारी भने नआएको बताए । “एनआइसी एसियाको हकमा केन्द्रीय बैंकको टोली अध्ययनका लागि गएको छ,” उनले भने, “ह्याक भएको हो वा होइन, भएको भए कति रकम ट्रान्सफर गरिएको भन्ने स्पष्ट भएको छैन ।”
केन्द्रीय बैंकको टिमले गरेको अध्ययनको रिपोर्ट नआएसम्म एकिन गर्न नसकिने पण्डितको भनाइ छ । तर, बैंकका अधिकारीले भने ग्राहकको खातामा कुनै समस्या नरहेको भए पनि हल्ला चलेपछि स्विफ्ट नेटवर्कमा अनुसन्धान गरिरहेको जनाए ।
तरपनि राष्ट्र बैंकको टोलीले गरेको स्थलगत अवलोकनमा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको हुनसक्नेभन्दै केन्द्रय बैंकले आइतबार नै सम्बन्धित देशका केन्द्रिय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको छ ।
स्विफ्टमार्फत धेरै कारोबार गर्ने नेपाल राष्ट्र बैंक नै भएकाले केन्द्रीय बैंक पनि होसियार हुनुपर्ने अवस्था रहेको पण्डितले बताए । तर, केन्द्रीय बैंकको सिस्टम चेक गर्दा हालसम्म कुनै समस्या नरहेको उनले बताए । “नेपाल राष्ट्र बैंकले सबै नेपाली बैंकलाइ सावधान हुन र आफ्नो सिस्टम चेक गर्न मौखिक रूपमा निर्देशन दिएको छ,” उनले भने, “विदेशी बैंकहरूलाई पनि स्विफ्ट नेटवर्क प्रयोगकर्ता बैंकहरूको अकाउन्ट ह्याक हुने समस्या देखिएको जानकारी गराइसकेको छ ।”
राष्ट्र बैंकको टोलीले गरेको स्थलगत अवलोकनमा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको फेला परेकोले केन्द्रय बैंकले आइतबार नै सम्बन्धित देशका केन्द्रिय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरेको छ ।
यस्तै, विभिन्न बैंकहरूको विदेशी बैंकको एकाउन्टको रकम चलाएको हल्लाले नेपालका लागि स्विफ्ट हेर्ने निकायले पनि सबै बैंकलाई आफ्नो एकाउन्ट चेक गर्न भनेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । सुरक्षाका लागि अपनाउन सकिने उपायहरूका लागि पनि स्विफ्टसँग छलफल भइरहेको उनले बताए । यसअघि स्विफ्ट नेटवर्कमार्फत सन् २०१६ मा बंगलादेश बैंकको फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको बैकबाट ८१ मिलियन रकम यसैगरी चोरी भएको थियो ।
नेपाल राष्ट्र बैंकले आफ्नो अध्ययनपश्चात नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत कारबाही प्रक्रिया अघि वढाउने पनि जनाएको छ । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख डिआइजी पुष्कर कार्कीले हालसम्म औपचारिक रूपमा अनुरोध कतैबाट नआएको बताए । केन्द्रीय बैंकले औपचारिक रूपमा हामीलाई जानकारी गराएपछि त्यसबारेमा अध्ययन गरेर प्रविधिक समूहसँग बसेर छलफल गरेपछि मात्र भन्न सकिने उनले बताए । यो खबर कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा