सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शुरबहादुर सिँह ,जुम्ला ,असोज २७ । संघ र प्रदेश सभाको निर्वाचनका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई उमेदवार छान्न निकै सकस परेको छ । दर्जनौ स्थानीय पार्टी नेता कार्यकर्ताले उमेदवार हुने तीव्र आकांक्षा राखेपछि माओवादी केन्द्र जुम्लालाई उमेदवार टुंगो लगाउन मुस्किल भएको हो । बाम एकता भएपछिको निर्वाचन क्षेत्र निर्धारण समितिको निर्णयले जुम्ला माओवादीको भागमा संघ हात परेको करिब निश्चित छ भने क्षेत्र नं १ को प्रदेश सभा पनि माओवादीकै हातमा पर्ने देखिन्छ । बाम चुनावी तालमेल अघिदेखि नै ६ नं प्रदेशको मुख्यमन्त्रीमा लविङ गर्दै आउनुभएका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेश भण्डारी र संघमा पोलिटब्यूरो सदस्य गजेन्द्र महतको उमेदवारी झण्डै नजिक पुगेको स्रोतले जनाएको छ ।
तर टुंगो भने लागिसकेको छैन । माओवादी केन्द्र जुम्लाभित्रै दुई खेमा देखिएको छ । उमेदवारका आकांक्षी सबै काठमाडौँं केन्द्रित छन् । केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरले ३८ जनाको नाम पार्टी प्रदेश कार्यालयमा पेश गरेको नामावली प्रकाशमा आएपछि केन्द्रका जुम्ला इञ्चार्ज नवराज न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी प्रेषित नामावली भ्रामक र झुठो भएको बताउनुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “प्रेषित नामावली जनताको मर्म, भावना र संगठनको स्थापित पद्दति विपरित छ । यसप्रति बहुमत केन्द्रीय आयोजक समितिका सदस्यको असहमति रहेको छ ।”
प्रेस विज्ञप्तिमार्फत उहाँले पद्दति मिच्ने गलत प्रवृत्ति निरुत्साहित गर्न भन्दै पार्टी केन्द्रीय समितिलाई अनुरोध गर्नुभएको, योजक कुँवरले भने जिल्ला पार्टीका जिम्मेवार नेतासँग छलफल गर्दा छलफल नै नहुने देखिएकाले सबैलाई समेट्ने गरी ३८ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको जनाउनुभयो । यद्यपि यसलाई कुप्रचार गरिहाल्ने भन्दा पनि बहसबाट सल्टाउनुपर्ने उहाँको भनाइ छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असोज ८ गते जुम्लाको सिंजामा पुगेर नवप्रवेशी पूर्णप्रसाद धिताललाई जुम्ला २ नं क्षेत्रबाट प्रदेशसभा सदस्यको टिकट घोषणा गर्नुभएको थियो ।
तर अहिले घोषणा गरिएको धितालको टिकट बाम एकताका कारण प्रभावित बन्ने सम्भावना पनि त्यत्तिकै देखिएको छ । स्रोतकाअनुसार सिंजा भेकमा पर्ने जुम्लाको २ नं क्षेत्रका लागि प्रदेश सभा सदस्यको टिकट भने नेकपा ९एमाले०लाई निश्चित हुने देखिएको छ । उमेदवार छान्ने होडबाजीले भने माओवादी केन्द्रभित्र भएको चरम गुटबन्दीको विवाद सामाजिक सञ्जालमा पनि देखिएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा