सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ११ । गएको बिहीबार आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको नेपालीको महान् चाड बडा दशैँको बुधबार सातौंं दिन, देशभरका शक्तिपीठ, जमराघर तथा हिन्दूहरुको घर–घरमा फूलपाती भित्र्याइँदैछ ।
दशैँघर तथा देवी मन्दिरमा उखु, केरा, बेलपत्र, दारिम, जयन्ती धानका बाला, अशोकका पात, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतिक फूलपातीका रुपमा भित्र्याइने गरिन्छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
दशैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दशैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने बताइन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ भने कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।
बडा दशैँमा पहिलो दिन घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा गरि मनाइन्छ । दशैंको सातौं दिनमा भित्र्याइने फूलपाती र कालरात्रि देवीको पूजा आराधना गरिन्छ ।
माता कालरात्रि आदिमाता पार्वतीको माया रुप हो । दुष्ट वृतिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट तह लगाउने उद्देश्यले कालरात्रि देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ ।यी देवीको वदनवर्ण नीलो रंगको रहेको छ । लामो रातो ओंठ भएकी, गधामा चढेकी, बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ ।
यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।
बडा दशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अबधिभर मुलुकभर रहेका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गर्दछ ।
यसवर्षको दशैंको टीकाको शुभ साइत असोज १४ गते बिहान ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैबीच, अघिल्ला वर्षहरुको जस्तै नेपाली सेनाले टुंडिखेलमा बुधबार फूलपातीको हर्ष बढाइँ गर्दैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा