सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६मंसिर । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट लोकप्रियता हासिल गरेका कमेडियन हिक्मत महराको मंगलबार राति सडक दुर्घटनामा निधन भएको छ।
कैलालीको गोदावरी नगरपालिका-४, गोदावरीस्थित भीमदत्त राजमार्गमा महराले चलाइरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। गम्भीर घाइते भएका महरालाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
३० वर्षीय हिक्मत महरा शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर बनसाहका बासिन्दा थिए। ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनमा महराले सामाजिक मुद्दामा आधारित हास्यव्यंग्य प्रस्तुत गर्दै उत्कृष्ट ४ सम्मको यात्रा तय गरेका थिए। उनको अनौठो शैली र सशक्त प्रस्तुतिले उनलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो।
महराको निधनको खबरपछि मनोरञ्जन क्षेत्रका कलाकार र उनका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्। शोका निर्देशक विशाल भण्डारी, कमेडियन हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतका कलाकारले महराप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यो घटना नेपाली मनोरञ्जन क्षेत्रका लागि ठूलो क्षति मानिएको छ। महराको हास्यव्यंग्यको शैली र सामाजिक मुद्दाप्रति उनको सचेतना सधैं प्रेरणादायक रहनेछ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा