सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, जेठ २९ । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गएपनि सिरहामा नेकपा एमालेबाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेका छैनन् । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीलगायतका दलहरूले उम्मेदवार तयका लागि अन्तिम तयारी गरिरहेको जनाएका छन् । एमालेले भने जिल्लाको धनगढीमाई नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाबाहेक सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरी प्रचार–प्रसारलाई तीव्र बनाएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लागिसकेको र अबको केही दिनभित्रै सबै उम्मेदवारको नाम सार्वजनिक गरिने बताए । माओवादी केन्द्रले पनि जिल्लाका अधिकांश गाउँपालिका तथा नगरपालिकाको उम्मेवार टुंगो लागिसकेको जनाएको छ ।
माओवादी नेता तथा पोलिटब्युरो सदस्य हरिनारायण चौधरीले पार्टीले धेरैजसो गाउँपालिका तथा नगरपालिकाको टुंगो लगाएको र टुंगो लगाउन बाँकी रहेको स्थानीय तहको उम्मेदवार पनि असार १ अघि नै टुंगो लगाउने जानकारी दिए । यस्तै, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले अहिले उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले पार्टीभित्र उम्मेदवार छनोटबारे गृहकार्य भइरहेकाले चाँडै उम्मेवादर टुंगो लाग्ने बताए ।
एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार एमालेले लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, कल्याणपुर नगरपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा. नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाको उम्मेदवार प्रदेश समितिले टोली बनाइ पछि निर्णय गर्ने एमाले सिरहा अध्यक्ष यादवले बताए । सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ४२६ ओटा मतदान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा